कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गरेको माओवादी नेता पुनको दाबी

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा बिचौलियाको प्रभाव हाबी भएको आरोप लगाएका छन्।
नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पुनले बजेटमा सत्तानिकट स्वार्थ समूहको चलखेल रहेको आरोप लगाउँदै केही उद्योगलाई लाभ पुग्ने गरी कर नीतिहरू परिवर्तन गरिएको बताए।
पुनले निर्माण उद्योगमा प्रयोग हुने स्पन्ज आइरनमा कर घटाएर १ प्रतिशत बनाइएको भन्दै अर्को थरिका समान प्रकृतिका सामग्रीमा ५ प्रतिशत कर लगाइएको बताए। यस्तो विभेदकारी नीतिले अर्बौं लगानी गरेका उद्योगीहरू संकटमा पर्ने र हजारौं रोजगारी गुम्ने अवस्था आएको उनले बताए। ‘यसरी उद्योग चल्दैन। राज्यको नीति बिचौलियाका इशारामा चलेको छ,’ उनले भने।
पुनले कानून निर्माणदेखि बजेट निर्माण र ठेक्कापट्टासम्म बिचौलियाको प्रभाव रहेको भन्दै त्यसविरुद्ध गम्भीर प्रतिवाद आवश्यक भएको औंल्याए। ‘बिचौलियाको स्वार्थमा कानून बन्न थाले समाजवादको आधार तयार हुँदैन,’ उनले भने, ‘समाजवादको सपना साकार पार्न प्रतिस्पर्धी वातावरण र राष्ट्रिय पुँजी निर्माण अनिवार्य छ।’
उनले सरकार र राजनीतिक दलहरू 'पार्टी रुल अफ ल' को सीमाभित्र बस्न जरुरी रहेको बताए। पुनले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारलाई हटाउन काँग्रेस र एमालेबीच 'स्वार्थका आधारमा मिलन' भएको आरोप लगाए। ‘हामीले दलाल पुँजीपतिको घेराबाट राज्यलाई निकाल्ने प्रयास गर्यौं, त्यसैले स्वार्थ समूहले दुई ठूला पार्टी काँग्रेस र एमालेलाई मिलाइदियो,’ उनले दाबी गरे।
पूर्वअर्थमन्त्री पुनले आर्थिक पुनर्जागरणका लागि कृषि, जलविद्युत, सूचना प्रविधि र उत्पादनमूलक उद्योगहरूमा लगानी प्रवर्द्धन गर्नुपर्ने सुझाव पनि दिए।
फरक प्रसंगमा उनले नेपालले भारत र चीनबीच उत्तर-दक्षिण सन्तुलित सम्बन्ध बनाउनुपर्ने धारणा राखे।
असार १४, २०८२ शनिबार १८:३४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।