संसद्बाट नागरिकता विधेयक पारित, अब बाबु नचिनिए पनि आमाबाट नागरिकता पाइने

काठमाडौं : ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ आज प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
गृह मन्त्री रमेश लेखकले संसदमा विधेयक पेस गर्दै आमाको नामबाट नागरिकता सुनिश्चित गर्न यो कानुन आएको बताए।
गृह मन्त्री लेखकले भने, ‘नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने प्रस्ट व्यवस्था विधेयकमा राखिएको छ। अदालतका अघिल्ला फैसलालाई कार्यान्वयनमा ल्याउने प्रयास पनि यही विधेयक हो।’
विधेयकले नेपालकै आमाबाट विदेशमा जन्मिई, नेपालमा बसोबास गरिरहेका, बाबुको पहिचान नभएका र विदेशी नागरिकता/राहदानी नलिएका सन्तानलाई स्वघोषणाको आधारमा अङ्गिकृत नेपाली नागरिकता दिने व्यवस्था गरेको छ।
नाबालकहरूलाई बाबु वा आमामध्ये एक जना नेपाली भएमा नाबालक परिचयपत्र दिने व्यवस्था पनि विधेयकमा समावेश छ। सांसद प्रकाश ज्वालाले अब वास्तविक नेपाली नागरिकले नागरिकता पाउन बाटो खुल्ने भएको भन्दै गैरनागरिकले नागरिकता नपाउने सुनिश्चित गर्न कडाइको आवश्यकता रहेको बताए।
सांसद रामकृष्ण यादवले तराईमा नागरिकताविहीन धेरै भएको भन्दै यो विधेयकले उनीहरूलाई सेवा-सुविधाबाट वञ्चित हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरे।
अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएसँगै प्रमाणीकरण गरेर लागू गरिनेछ।
असार १४, २०८२ शनिबार १७:५५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।