साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न क्षेत्रका नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गर्दै बाढी र पहिरोको जोखिम बढेको चेतावनी दिएको छ।
विभागका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरू, साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको जलसतह बढ्दो भए पनि सतर्कता तह भन्दा तल रहने अनुमान गरिएको छ। तर, नदी किनारका गतिविधिमा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
आइतबार र सोमबार महाकाली र पश्चिम सेती नदीहरूमा जलसतह सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको विभागको भनाइ छ। त्यसैले ती नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन भनिएको छ।
काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुलालगायतका जिल्लाबाट बग्ने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रे, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लाहरूमा पनि केही साना नदीहरूमा बाढी आउने सम्भावना देखिएको छ। यी जिल्लाहरूका नदी तटीय क्षेत्रहरू र पहिरो सम्भावित स्थानहरूमा विशेष सतर्कता आवश्यक रहेको विभागले उल्लेख गरेको छ।
झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया लगायतका जिल्लामा बहने केही साना नदीहरूमा जलसतह बढ्ने अनुमान गरिएको छ। यी क्षेत्रमा सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले नागरिकलाई Nepal Flood Alert मोबाइल एप र विभागको वेबसाइट वा फेसबुक पेज मार्फत नियमित जानकारी हेर्न र सरकारी सूचनाको पालना गर्न अनुरोध गरेको छ।
असार १४, २०८२ शनिबार १७:१८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।