एमाले वाम आन्दोलनको असाधारण शक्ति, झुसे बारुलो होइन : अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई वामपन्थी आन्दोलनको असाधारण शक्ति भन्दै त्यसलाई कमजोर आँक्ने प्रयास असफल हुने दाबी गरेका छन्।
जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले भण्डारीको निधनपछिका दशकलाई चुनौतिपूर्ण समयको रूपमा व्याख्या गरे।
“जबजको अवधारणा ०४६ सालको महाधिवेशनदेखि अगाडि बढाइएको हो,” उनले भने, “तर त्यसपछि तीन दशकभरिको समय हामीले भण्डारीको अभावमा बितायौं। खासगरी ०५० सालपछि विचार र संगठन दुवै पक्षबाट गम्भीर चुनौतीहरू झेल्नुपर्यो।”
ओलीले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि सान्दर्भिक रहेको भन्दै वामपन्थी शक्तिहरूका लागि सोभियत संघपछिको समय सहज नभएको बताए। “त्यस बेला कतिपयले एमालेलाई झुसे बारुलो ठाने,” उनले व्यंग्य गर्दै भने, “तर हामी झुसे बारुलो होइनौं। कहिले काँही चिलजस्तो ठूला पंक्षीलाई सानो चिभे चराले पनि हैरान पार्छ। आकारभन्दा विचारको दम हेर्नुपर्छ।”
उनले एमालेलाई कमजोर देखाउने र पार्टी सिध्याउने नियतसहित केही तत्व सक्रिय भएको आरोप लगाउँदै भने, “एमाले आफैँमा एउटा शक्ति हो। विचार, उद्देश्य र प्रतिबद्धताले भरिएको पार्टी हो। त्यसैले दुनियाँको वामपन्थी आन्दोलनमा एमालेको विशेष स्थान छ।”
असार १४, २०८२ शनिबार १६:३१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।