धानको भुषभित्र लुकाइएको २१२ किलो गाजासहित चारजना पक्राउ

धानको भुषभित्र लुकाइएको २१२ किलो गाजासहित चारजना पक्राउ

रौतहट : लागुऔषध गाजा लुकाएर तस्करी गर्ने प्रयासका साथ यात्रा गरिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बारा जिल्लामा प्रहरीको संयुक्त टोलीले शनिबार बिहान २ सय १२ किलो ९२८ ग्राम गाजा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको हो।

मकवानपुरको हेटौंडाबाट बाराको प्रसौनी गण्डकतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी परवानीपुर गाउँपालिका–५ बहुअरीमा चेकजाँचका क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

गाडीको ट्रलीमा धानको भुषभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाजा फेला परेको प्रहरीले जनाएको छ। बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार गाडी चालक मकवानपुर थाहा नगरपालिका–४ का २८ वर्षीय रवि कार्की, थाहा–१२ का ४३ वर्षीय वीरबहादुर गोले, हेटौंडा–१४ का २३ वर्षीय साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका–७ का ३१ वर्षीय महेश तामाङ पक्राउ परेका हुन्।

उनीहरू सबै उक्त पिकअप गाडीमा सवार रहेको र लागुऔषध तस्करीमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त टोलीले अपरेशन सफल बनाएको हो।

असार १४, २०८२ शनिबार १५:४८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।