सुमिरे टुर एण्ड ट्राभल्सको जापान भिसा ठगीबारे छानबिन गर्न सांसद खतिवडाको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक संस्थाले जापानमा भिजिट भिसाका नाममा हजारौं नेपालीबाट अर्बौं रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले विगत १० वर्षदेखि भइरहेको भनिएको यस ठगीबारे निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले ठगी प्रकरणमा संसदमा प्रतिनिधित्व गर्ने तथा ‘सांसद किनेर’ पार्टीबाट प्रतिनिधित्व गरेका व्यक्तिको संलग्नता रहेको आरोप लगाए।
सांसद खतिवडाले भने, ‘सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्।’
यसै क्रममा सांसद खतिवडाले संसद बैठकमा हुने नाराबाजी र अवरोधप्रति पनि असन्तुष्टि जनाए। आफ्ना कुरा राख्ने र अन्य सांसदहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया अन्त्य गर्न सभामुखलाई आग्रह गरे।
असार १४, २०८२ शनिबार १३:२८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।