डा. सन्दीपको उपचार अनुभव : रक्सी पिएर कलेजो नै बिग्रिएकी ती महिला बाँचेपछि...

डा. सन्दीपको उपचार अनुभव : रक्सी पिएर कलेजो नै बिग्रिएकी ती महिला बाँचेपछि...

डा. सन्दीपराज बज्राचार्य पेट तथा कलेजोरोग विशेषज्ञ हुन्। उनले विशेषगरी उपत्यका बाहिरको पूर्वी नेपालमा बसेर सयौं गम्भीर बिरामीको उपचार गरी जीवन रक्षा गरेका छन्। उनै डा. सन्दीपले आफ्नो चिकित्सकीय पेशाको क्रममा देखे भोगेका केही अविस्मरणीय अनुभव उकेरासँग साटेका छन्, जसमा जीवनमरणको दोसाँधमा पुगेका बिरामीहरूको कथा र उनको शैक्षिक यात्रा समेटिएको छ।

रक्सीले कलेजो बिग्रिएकी महिलाले पाएको नयाँ जीवन
डा. सन्दीपले कलेजो तथा पेटजन्य रोगको समस्या भएका सयौँ बिरामीलाई बचाएका छन्। विशेषगरी कलेजो र पेटजन्य समस्याका कारण बेहोस अवस्थामा अस्पताल पुगेका तथा रक्सी सेवनका कारण कलेजोमा गम्भीर समस्या भई रगत बान्ता गर्ने वा दिसा कालो हुनेजस्ता जटिल अवस्थाका कयौं बिरामीको उनले सफल उपचार गरेका छन्।

यस्तै एक गम्भीर बिरामीको प्रसङ्ग सुनाउँछन् उनी। केही महिनाअघिको कुरा हो। करिब ५० वर्षकी एक महिलालाई अत्याधिक रक्सी सेवनका कारण कलेजो पूरै बिग्रिएर गम्भीर अवस्थामा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो। उनको अवस्था यति नाजुक थियो कि सघन उपचार कक्ष आवश्यक थियो। तर, प्रतिष्ठानमा तत्काल आईसीयू उपलब्ध नहुँदा उनलाई विराटनगर रिफर गरियो।

विराटनगरस्थित अस्पताल पुर्याइएकी ती महिला अर्धचेतन अवस्थामा थिइन्। डा. सन्दीप र उनको टोलीले तत्कालै बिरामीलाई भर्ना गरी उपचार सुरू गर्यो। निरन्तरको औषधि उपचारपछि उनको स्वास्थ्यमा विस्तारै सुधार आयो।

करिब एक हप्ताको उपचारपछि डिस्चार्ज भई घर फर्किंदा ती महिलाले जीवन बचाइदिएकोमा चिकित्सकको टोलीप्रति हाउभाउबाटै गहिरो कृतज्ञता व्यक्त गरेकी थिइन्। समयमै अस्पताल पुगेकाले उनको ज्यान जोगिएको थियो।

अहिले पनि ती महिला बेलाबेलामा फलोअपका लागि आउने गरेको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा. सन्दीप बताउँछन्। रक्सी सेवनले कलेजो पूर्णरूपमा क्षति भई जीवनकै खतरामा पुगेकी ती महिलालाई बचाउन सकेको क्षण सम्झँदा उनलाई आज पनि सन्तुष्टि मिल्छ।

पीत्तनलीको ढुंगा जमेरफत्र्याक-फत्र्याक परेका ती युवा
त्यसैगरी, अर्का एक बिरामीको उपचार अनुभव पनि डा. सन्दीप कहिल्यै भुल्दैनन्। केही समयअघिको प्रसङ्ग हो यो। करिब ३५ वर्षका एक युवाको पीत्तनलीमा ढुंगा जमेर संक्रमण भई जन्डिस (हेपाटाइटिस) को समस्या देखिएको थियो।

अस्पताल पुर्याउँदा उनको अवस्था अत्यन्त जटिल थियो। पीत्तनलीमा भएको ढुंगाका कारण एकातर्फ उनको शरीर शिथिल भएको थियो भने अर्कातर्फ असह्य पीडाले उनी छटपटाइरहेका थिए। ती बिरामीलाई पनि तत्काल आईसीयूमा भर्ना गरी उपचार थालियो। डा. सन्दीपले ‘ईआरसीपी’ विधि अपनाएर मुखबाट पीत्तनलीसम्म पाइप छिराई ढुंगा निकाल्ने प्रक्रिया सफलतापूर्वक सम्पन्न गरे र पीत्तनलीमा पाइप राखिदिए।

ढुंगा निकालिएपछि उनको स्वास्थ्यमा तीव्र सुधार आयो। केही समयको औषधि उपचारपछि उनी पनि पूर्ण रूपमा निको भई डिस्चार्ज भए। मृत्युको मुखमा पुगिसकेका ती युवालाई बचाउन सफल भएको त्यो क्षण पनि डा. सन्दीपका लागि अविस्मरणीय छ।

धरानदेखि विशेषज्ञतासम्मको यात्रा
सुनसरीको धरानस्थित सिद्धकाली चोकमा जन्मिएका डा. सन्दीपराज बज्राचार्यले स्थानीय बिजयपुर स्कुलबाट २०५८ सालमा एसएलसी र त्यसैगरी प्लस टु पूरा गरे। सानैबाट डाक्टर बन्ने रहर राखेका उनले प्रवेश परीक्षा उत्तीर्ण गरी सन् २००५ मा बंगलादेशको ढाका विश्वविद्यालयमा एमबीबीएस अध्ययनका लागि गए।

बंगलादेशमा अध्ययन गर्दा अभ्यास गर्ने अस्पताल गाउँमा नै थियो, जहाँ धान खेत र चौरको दृश्यले कहिलेकाहीँ उनलाई नेपालको घर गाउँको याद दिलाउँथ्यो। उनले इन्टर्नसिप सहित सन् २०११ मा एमबीबीएस पूरा गरी नेपाल फर्किए।

नेपाल फर्किएलगत्तै उनले धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करारमा मेडिकल अधिकृतको रूपमा काम गर्न थाले। थप अध्ययनको महत्व बुझेका उनले चिकित्सा शास्त्रको स्नातकोत्तर अध्ययनका लागि तयारी गरे। छनोट भएपछि काठमाडौं विश्वविद्यालय अन्तर्गत चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा सन् २०१३ मा ‘इन्टरनल मेडिसिन’ विषयमा एमडी अध्ययन सुरू गरे। सन् २०१६ मा उनले एमडी पूरा गरे।

एमडी अध्ययनपछि डा. सन्दीपले विराटनगरको विराट मेडिकल कलेजमा लेक्चररको रूपमा काम सुरू गरे। त्यहाँ उनको मुख्य काम बिरामीको उपचार गर्नुका साथै चिकित्सा शास्त्रका विद्यार्थीलाई अध्यापन गराउनु थियो।

विराटमा करिब अढाई वर्ष काम गरेपछि डा. सन्दीप धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै ‘ग्याष्ट्रो इन्टेरोलोजी तथा हेपाटोलोजी’ विषयमा ‘डीएम’ अध्ययनका लागि सन् २०१९ मा भर्ना भए। यो विद्यावारिधि सरहको विशिष्ठिकृत तहको अध्ययन हो, जुन उनले सरकारी छात्रवृत्तिमा पूरा गरे। सन् २०२२ मा डीएम अध्ययन सकिएपछि उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै दुई वर्षे छात्रवृत्ति करार अन्तर्गत ‘एसिस्टेन्ट प्रोफेसर’का रूपमा सेवा सुरू गरे। सन् २०२४ सम्म उनले त्यहाँ काम गरे।

हाल डा. सन्दीप करिब ६ महिनादेखि पुनः विराटनगरस्थित विराट मेडिकल कलेजमा ‘ग्याष्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोलोजी’ विभागमा ‘एसिस्टेन्ट प्रोफेसर’का रूपमा कार्यरत छन्। पेट तथा आन्द्राका अल्सर, क्यान्सर, पीत्त थैली, पीत्तनलीका समस्या लगायतका पेटजन्य रोगको उपचारमा उनी निरन्तर लागिरहेका छन्।

पूर्वी पहाडी क्षेत्रबाट कयौं बिरामीहरू दुःख पाएर ढिलो गरी उपचारका लागि आउने गरेको अनुभव उनी सुनाउँछन्। साथै, कयौं बिरामी आर्थिक अभावका कारण चिकित्सकको सुझाव अनुसार पूर्ण उपचार नगरी फर्कने गरेको तितो अनुभव पनि उनीसँग छ।

असार १४, २०८२ शनिबार १३:११:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।