रमेश लेखकलाई राप्रपाको चेतावनी- ‘गृहमन्त्रीज्यू धेरै फुर्ति नदेखाउनुस्, यो कुर्सीमा बस्ने दिन पनि आउँछ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् रोशन शाहीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद शाहीले आफ्नो रकम आउने बाटोलाई सहज बनाउन र छानबिनबाट फुत्किनका लागि सरकारले झारा टार्ने समिति बनाएको उनको आरोप छ।
‘गृहमन्त्री चम्बु बाठो हुनुहुँदोरछ। उहाँले यस्तो समितिबाट फुत्किन र कमाइको बाटो पनि जोगाउन सजिलो भयो,’ उनले भनिन्, ‘गृहमन्त्रीज्यू धेरै फुर्ति नदेखाउनुस्। एकदिन यस्तो आउँछ तपाईं पनि सत्तापक्षको कुर्सीबाट प्रतिपक्षको कुर्सीमा सर्नुपर्ने हुन्छ। त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ?’
गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको नाममा दैनिक ५० लाख भन्दा बढी असुली गरी मानव तस्करी गरेको र नेपाली जनतालाई बेचेको उनको आरोप छ। आफूमा थोरै मात्रै पनि नैतिकता भए राजीनामा दिन समेत उनले लेखकलाई सुझाव दिइन्।
उनले भनिन्, ‘अरुलाई नैतिकताको पाठ सिकाउने तपाईंमा थोरै पनि नैतिकता बचेको छ भने राजीनामा गर्नुस् र छानबिनलाई सघाउ पुर्याउनुस्।’
भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकारले विवादित पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गरेको थियो।
तर, समितिका नेतृत्वकर्ता नै अनुसन्धानमुलक निकायको रडारमा रहेको भन्दै प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको विश्वसनियतमाथि शंका गरिरहेका छन्।
उनीहरुको आन्दोलन र अवरोध अझै पनि जारी नै छ।
असार १४, २०८२ शनिबार १२:३०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।