ग्लोबल आइएमई बैंकद्वारा अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता भव्य रूपमा मनाइयो

ग्लोबल आइएमई बैंकद्वारा अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता भव्य रूपमा मनाइयो

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ।

बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको हो।

बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस र हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर विशेष मेला आयोजना गरेको थियो।

‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँस्थित कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ।

अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औं हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यम व्यवसायको प्रवर्द्धनमा विशेष योगदान पुर्याउने बताए।

उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए।

साथै, उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरणमा सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए।

‘हामीले सानो तथा सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार आजसम्म आइपुग्दा व्यापक भइसकेको छ। साथै, यो हाटबजारले नेपालको अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्ने र उत्पादकलाई हौसला प्रदान गर्नेछ’, उनले भने।

हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली र तिनमा आधारित उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका दुई दर्जन बढी कृषक तथा व्यवसायीका उत्पादन/सामग्रीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ।

असार १४, २०८२ शनिबार १०:११:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।