अपचलनका खबरबीच पनि लुम्बिनीमा अब्बल सहकारी : बचत मात्र होइन, स्वरोजगार र उद्यमशीलता सँगसँगै

अपचलनका खबरबीच पनि लुम्बिनीमा अब्बल सहकारी : बचत मात्र होइन, स्वरोजगार र उद्यमशीलता सँगसँगै

बुटवल : सहकारी क्षेत्रमा बचत अपचलन र अनियमितताका समाचारहरू आइरहेका बेला लुम्बिनी प्रदेशका केही सहकारीहरू भने सदस्यहरूको मन जित्दै उदाहरणीय काम गरिरहेका छन्।

ती सहकारीहरूले सदस्यहरूलाई व्यापार प्रवर्द्धन, उद्यमशीलता विकास र स्वरोजगार बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। सानो पुँजी भएका सदस्यहरूलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराएर सफल उद्यमी बनाउन, स्वरोजगार सिर्जना गर्न तथा कृषि र पशुपालन जस्ता क्षेत्रमा आकर्षित गर्न यी सहकारीहरूले उत्प्रेरकको काम गरेका छन्।

लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्राधिकारभित्र ०८१ बैशाख मसान्तसम्म ८४८ सहकारी दर्ता भएका छन्। यीमध्ये कतिपयले बचतकर्ता र नागरिकको विश्वास जित्दै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै आफ्नो वित्तीय अवस्था पनि सुदृढ पारेका छन्।

रूपन्देहीको तिलोत्तमा-३, शंकरनगरकी प्रतिमा पन्त यसको एउटा उदाहरण हुन्। उनले तिलोत्तमास्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाबाट ५ दिने बुटिक तालिम लिइन्। तालिमले उनमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढायो। पछि चुरा, जुत्ता, चप्पल र पोते बनाउने थप तालिमहरू पनि लिइन्।

प्रतिमा भन्छिन्, ‘सहकारीले मलाई बाटो देखाइदियो, मेहनत मैले गरेँ। तालिमपछि मिलेको हौसलाले नै मलाई व्यावसायिक यात्रामा अघि बढायो।’

आज प्रतिमा जिल्लामा सफल ट्रेनर (प्रशिक्षक) का रूपमा चिनिन्छिन्। उनी चुरा, चप्पल, जुत्ता र पोते बनाउने तालिम दिन पूर्वी नेपालदेखि पश्चिमसम्म पुग्छिन्।

सहकारीको सहयोगले गर्दा नै उनी स्वरोजगार बन्न सफल भइन् र आत्मबल पनि प्राप्त गरिन्। २७ वर्षकै उमेरमा श्रीमान् गुमाएर पीडा भोगेकी प्रतिमाले आफ्नो सीपलाई परिवारको जिम्मेवारी र छोराछोरीको शिक्षामा खर्च गर्न सकेकी छिन्।

उनी भन्छिन्, ‘काम गर्ने इच्छाशक्ति भएर पनि लगानी नहुने म जस्ता धेरै महिलाका लागि सहकारी वरदान बनेको छ। सहकारीले बचत गर्ने मात्र होइन, उद्यमी बन्ने प्रेरणा पनि दियो।’

१२ हजारभन्दा बढी सदस्य रहेको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले प्रतिमा जस्तै धेरै सदस्यलाई सफल उद्यमी बनाएर जीविकोपार्जनको बाटो देखाइदिएको छ। यो सहकारी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण गर्दै उनीहरूको हैसियत उकास्ने र आत्मनिर्भर बनाउने काममा अग्रणी छ। ०५० सालमा २६ सय रुपैयाँ शेयर रकम र २६ जना सदस्यबाट सुरु भएको यो संस्थाले आज धेरैलाई सफल व्यवसायी बन्न सघाएको छ।

यही सहकारीबाट ऋण लिएर तिलोत्तमा मंगलापुरका शेखर उपाध्याय त्यस क्षेत्रका एक उदाहरणीय व्यवसायी बनेका छन्। रंग पसल सुरू गर्न उनलाई सहकारीले नै ऋण दिएको थियो, जसको सहयोगमा उनले अहिले वार्षिक ४० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्छन्।

वित्तीय रूपमा पनि यो सहकारी निकै बलियो छ। यसको कुल बचत २ अर्ब ७० करोड ३७ लाख रुपैयाँ, शेयर पुँजी ३२ करोड ५१ लाख रुपैयाँ र जगेडा कोष २५ करोड ७७ लाख ४० हजार रुपैयाँ छ। कुल ३ अर्ब ६२ करोड ८३ लाख ८१ हजार रुपैयाँ सम्पत्ति रहेको यस सहकारीले २ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ ऋण लगानी गरेको वरिष्ठ व्यवस्थापक ईश्वरी मरासनीले जानकारी दिए।

दाङको लमही-९, रिहारस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सदस्य गंगा घर्तीको कथा पनि प्रेरणादायी छ। सहकारीमा सदस्य भएकै कारण उनले सुरुमा दुई वटा बाख्रा उपहार पाइन्। अहिले ती बाख्राहरू बढेर ५० भन्दा बढी पुगेका छन्।

उनी भन्छिन्, ‘यी बाख्रा र पाठा बिक्री गरेर नै मैले घरखर्च चलाएकी छु। सहकारीले गर्दा नै आज यो सफलता सम्भव भयो।’

२०६९ सालमा दर्ता भएको यो सहकारीले पशुपालन सहित कृषि क्षेत्रमा लगानी गरी किसानलाई उद्यमी बनाउन र जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ।

बुटवल उपमहानगरपालिका-८ को इन्द्रणी बहुउद्देश्यीय सहकारीले पनि नयाँ काम गरेको छ। यसले डेढ करोड रुपैयाँ लगानीमा ‘ईभी चार्जिङ’ सेन्टर सञ्चालनमा ल्याएको छ। साथै, उपभोक्तालाई स्वच्छ र सुपथ मूल्यमा दुग्धजन्य पदार्थ उत्पादन गरी बिक्री वितरण गरिरहेको छ।

२ हजारभन्दा बढी शेयर सदस्य रहेको यो सहकारीले ७० वर्ष उमेर माथिका ज्येष्ठ सदस्यहरूलाई मासिक २ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्ने गरेको अध्यक्ष कृष्ण अर्यालले बताए। सहकारीको कुल पुँजी ६३ करोड रुपैयाँ छ।

बर्दियाको ठाकुरबाबा-३ मा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको हितमा ‘सदस्य परिवार राहत कोष’ स्थापना गरेको छ। सदस्यले एक पटक मात्र २ हजार ५ सय रुपैयाँ जम्मा गरेपछि मृत्युपश्चात् परिवारलाई २५ हजार रुपैयाँ दिने व्यवस्था छ।

यसबाहेक ज्येष्ठ नागरिकका लागि तीर्थाटन योजना र सुलभ कर्जाले पनि सदस्यहरूको मन जितेको छ। सिपमूलक तालिम दिने र सोही तालिमको प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्थाले सदस्यहरूलाई व्यवसाय सुरु गर्न सजिलो भएको व्यवस्थापक धनबहादुर रतगैयाले बताए।

१३ हजार ३४९ सदस्य रहेको यस सहकारीको वित्तीय अवस्था पनि सन्तोषजनक छ। शेयर पुँजी ६ करोड ८४ लाख, जगेडा कोष ३ करोड ५८ लाख, अन्य कोष ५६ लाख ३५ हजार, बचत ६९ करोड ९२ लाख र तरलता १८ करोड ४९ लाख रुपैयाँ छ। ६० करोड ७९ लाख रुपैयाँ ऋण लगानी गरेको सहकारीको कुल सम्पत्ति ८१ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

रूपन्देहीको जनउत्थान सहकारीलाई देशकै अब्बल सहकारीमध्ये एक मानिन्छ। ३९ हजार शेयर सदस्य आबद्ध रहेको यो सहकारीले पनि धेरै सदस्यलाई उद्यम र स्वरोजगारसँग जोड्न कम ब्याजमा ऋण उपलब्ध गराइरहेको छ।

यस सहकारीले १६ वर्षमुनिका बालबालिका बचतकर्ता जो आफैँ बचत जम्मा गर्न आउँछन्, उनीहरूलाई नयाँ कक्षामा जनउत्थानको कापी उपहार दिने नौलो प्रचलन सुरू गरेको छ। यो वर्ष मात्र ५५०० जना बालबालिकालाई कापी वितरण गरिएको छ।

सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालका अनुसार संस्थाले घरदैलो खुत्रुके बचत संकलन, नयाँ बुहारी स्वागत, सुत्केरी भेटघाट, मासिक रूपमा विशेष शेयर सदस्य सम्मान र सदस्यहरूलाई अस्पतालमा छुट जस्ता सामाजिक कार्यहरू पनि गर्दै आएको छ।

३१ जना सदस्यबाट २०५९ कार्तिक १५ गते सुरु भएको यो सहकारी संस्थाले आफ्नो उत्कृष्टताका लागि धेरै राष्ट्रिय सम्मान पाएको छ। ०७८ मा नेफ्स्कूनबाट सर्वोत्कृष्ट साकोस, २०७७ मा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र २०७४ मा अधिकतम कर तिर्ने संस्थाका रूपमा यो सम्मानित भइसकेको छ।

तिलोत्तमा-१५, कोटिहवामा मुख्य कार्यालय रहेको यस सहकारीले गत वर्ष नेपालबाट ‘एवान कम्पिटिटिभ च्वाइस फर एक्सिलेन्स इन सर्भिस एन्ड साउन्डनेस (एक्सेस)’ ब्रान्ड प्राप्त गर्ने एक्लो सहकारीको परिचय बनाएको छ।

४ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ कुल सम्पत्ति रहेको यस सहकारीले ३ अर्ब ३२ करोड ९७ हजार रुपैयाँ ऋण लगानी र ३ अर्ब ३६ करोड ७२ लाख रुपैयाँ बचत सङ्कलन गरेको छ। सहकारीको तरलता ८३ करोड २४ लाख रुपैयाँ र जगेडा कोष ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन्। धेरै सहकारीहरूले समुदायमा छरिएर रहेको श्रम, सीप, प्रविधि र स-सानो पुँजीलाई एकीकृत गरी आर्थिक समृद्धिको एउटा प्रभावकारी माध्यमको काम गरिरहेका छन्। सरकारले अंगीकार गरेको तीन खम्बे अर्थनीतिमा सहकारी क्षेत्रले यस्तै नमुनायोग्य कार्य गर्दै गएमा यो आर्थिक समृद्धिको बलियो सारथी बन्नेमा सहकारी विज्ञहरू विश्वस्त छन्।

बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपाल केही सहकारीको खराब नियतका कारण सबैलाई एउटै आँखाले हेर्न नहुने बताउँछन्।

उनी भन्छन्, ‘अहिले धेरै सहकारीले सदस्यहरूलाई जीविकोपार्जनको बलियो आधार प्रदान गरेका छन्। स्थानीय स्तरमा साना वित्तीय संस्थाका रूपमा रहेका सहकारीहरूले निक्षेप संकलन गरी किसान र साना व्यवसायीहरूलाई कर्जा प्रवाह गर्दै उद्यमी बन्न प्रेरित गरिरहेको छ।’

प्रदेशभर सहकारीको अवस्था
लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्र ०८१ बैशाख मसान्तसम्म कुल ८४८ सहकारी दर्ता भएका छन्। जसमध्ये बचत तथा ऋण सहकारी २७५, बहुउद्देश्यीय २५९, कृषि १४९, दुग्ध ३२, उपभोक्ता १४, सञ्चार १२, अदुवा ८, श्रमिक १, साना किसान कृषि ७, कफी ६, तरकारी तथा फलफूल ४, मौरी पालन ५, विद्युत् ४, पशुपालन २, जडीबुटी १ र अन्य ४१ वटा छन्।

भौगोलिक रूपमा हेर्दा, सबैभन्दा बढी २४१ वटा सहकारी रूपन्देहीमा छन्। त्यसपछि बाँकेमा १२४ र दाङमा ११७ वटा छन्। सबैभन्दा कम ६ वटा सहकारी रुकुम (पूर्व) मा छन्।

बैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा कुल ३ लाख ८६ हजार सहकारी शेयर सदस्य छन्। यसमा १ लाख ६१ हजार १६१ (४१.७५ प्रतिशत) महिला र २ लाख २४ हजार ५८९ (५८.२५ प्रतिशत) पुरुष सदस्य छन्।

प्रदेशका कुल सहकारीहरूको ३८ अर्ब ७ करोड २ लाख रुपैयाँ बचत छ भने ५ अर्ब ४५ करोड ११ लाख रुपैयाँ शेयर लगानी रहेको छ। कुल ३७ अर्ब ५५ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी मधुकृष्ण पौडेलले केही सहकारीको खराब नियतका कारण समस्या देखिए पनि अधिकांश सहकारी सदस्यहरूका लागि वरदान साबित भएको दाबी गर्छन्।

‘धेरै सहकारीहरूले शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक हेरचाह, आवास जस्ता सामाजिक क्षेत्रमा काम गरेर सदस्य तथा अन्य व्यक्तिलाई समेत सामाजिक सुरक्षा प्रदान गरेका छन्’, उनले भने।
यद्यपि, सहकारीको गुणात्मक विकासभन्दा संख्यात्मक वृद्धिमा जोड दिँदा सोचे अनुरूप प्रतिफल प्राप्त हुन नसकेको उनको भनाइ छ।

पौडेलका अनुसार प्रदेशको अनुगमन र नियमन क्षेत्राधिकारभित्र रहेका २३ वटा सहकारीमा समस्या देखिएको छ। तीमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण सहकारी छन्, र समस्यामा परेका अधिकांश सहकारी बुटवल, नेपालगञ्ज जस्ता ठूला शहरमा रहेका छन्।

असार १४, २०८२ शनिबार ०९:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।