रुपन्देही एसईईमा नतिजा सुधार : ७१ प्रतिशत उत्तीर्ण, ८७ ले ल्याए ४ जीपीए

बुटवल : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत रुपन्देही जिल्लामा नतिजामा उल्लेख्य सुधार आएको छ। जिल्लाभरका सामुदायिक तथा निजी विद्यालयबाट ८७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्।
शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेका अनुसार समग्रमा यस वर्ष जिल्लामा ७१.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष जिल्लाको नतिजा ४७ प्रतिशत मात्र रहेकोमा यस वर्ष ७१.१ प्रतिशत पुगेको हो। यसरी नतिजामा करिब २४ प्रतिशत अंकको सुधार आएको देखिएको छ।
शुक्रबार प्रकाशित नतिजाअनुसार रुपन्देही जिल्लामा सबैभन्दा बढी ४ जीपीए ल्याउने विद्यार्थी तिलोत्तमास्थित शान्ति नमूना माध्यमिक विद्यालयका छन्। यस विद्यालयबाट परीक्षामा सहभागी ६०९ जनामध्ये १८ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन्।
बुटवलका विद्यालयमध्ये न्यू होराईजनबाट ११ जनाले ४ जीपीए ल्याएका छन्। त्यस्तै, अक्सफोर्ड माध्यमिक विद्यालयबाट १० जनाले यो अंक हासिल गरेका छन्। बुटवलकै कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट ७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्।
कालिका मानवज्ञानका प्राचार्य दिनेश थापाका अनुसार सो विद्यालयमा परीक्षामा सहभागी ५९६ जनामध्ये ४ जीपीए बाहेक ३.६० भन्दा माथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३.२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र २.०० देखि २.४० सम्म २ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
अन्य विद्यालयतर्फ सैनामैना नमुना माविका ४ जना, नयाँगाउँ मावि बुटवलका ३ जनाले ४ जीपीए ल्याएका छन्। दिप बोडिङ, तिनाउ बोडिङ स्कुल, गार्गी एकेडेमी, प्रभात बोडिङ स्कुल सैनामैना र नवरत्न माध्यमिक विद्यालयबाट २/२ जना विद्यार्थीले यो सफलता प्राप्त गरेका छन्।
यस्तै, न्यू इन्भारमेन्ट मणिग्राम, रामापुर माध्यमिक विद्यालय सैनामैना, कान्ति मावि, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन स्कुल फर्साटिकर, सुनगाभा पब्लिक स्कुल सैनामैना, सैनामैना मेमोरियल, सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालय बुटवल, न्यू होराईजन गौतमबुद्ध मावि तिलोत्तमा र एभरेष्ट बोडिङ स्कुल बुटवलबाट १/१ जनाले ४ जीपीए ल्याएका छन्।
नविन औद्योगिक माध्यमिक विद्यालयका आर्यन पौडेलले पनि ४ जीपीए ल्याएका छन्। विद्यालयको समग्र नतिजा ९४ प्रतिशत रहेको प्राचार्य प्रेम बहादुर बस्नेतले जानकारी दिए।
शुक्रबार प्रकाशित राष्ट्रिय नतिजाअनुसार देशभरबाट ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ।
असार १४, २०८२ शनिबार ०९:१०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।