इरानी नेताप्रति ट्रम्पको टिप्पणी- अपमानजनक मृत्युबाट बचाएको खामेनीले मलाई ‘धन्यवाद!’ भन्नुपर्छ

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँगको द्वन्द्व जितेको भनी गरेको दाबीको कडा प्रतिवाद गरेका छन्।
ट्रम्पले खामेनीको दाबीलाई ‘झूट’ र ‘मूर्खतापूर्ण’ भनिरहँदा इरानका विदेशमन्त्रीले भने अमेरिकाले सम्झौता चाहेमा खामेनीप्रति अपमानजनक भाषा त्याग्नुपर्ने बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै ट्रम्पले भने, ‘किन अयातोल्लाह अली खामेनीले इजरायलसँगको युद्ध जितेको झुट कुरा भने? उनलाई थाहा छ कि उनको भनाइ झूट हो।’
ट्रम्पले इरानको अवस्था ‘ध्वस्त’ भएको दाबी गर्दै थपे, ‘उनीहरूको देश ध्वस्त भयो। उनीहरूका तीन आणविक स्थलहरू ध्वस्त भए। मलाई थाहा थियो उनीहरू कहाँ लुकेका छन्। म इजरायल वा अमेरिकी सशस्त्र सेनालाई उनको जीवन समाप्त गर्न दिने छैन।’
ट्रम्पले आफूले खामेनीलाई ‘एकदमै अपमानजनक मृत्युबाट बचाएको’ दाबी गर्दै उनले ‘धन्यवाद, राष्ट्रपति ट्रम्प!’ भन्नुपर्ने बताए।
ट्रम्पले आफू इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउने सम्भावनामा काम गरिरहेको भए पनि इरानको हालैको भनाइपछि आफूले त्यसो गर्न छाडेको स्पष्ट पारे।
यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीले राष्ट्रपति ट्रम्पको भनाइप्रति प्रतिक्रिया जनाएका छन्। उनले अमेरिका साँच्चै इरानसँग सम्झौता चाहन्छ भने राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीप्रति आफ्नो ‘अपमानजनक’ स्वरहरू त्याग्नुपर्ने बताएका छन्।
‘राष्ट्रको रूपमा हाम्रो मूल जग धेरै सरल र सीधा छ कि हामीलाई हाम्रो मूल्य थाहा छ। हामी हाम्रो स्वतन्त्रताको कदर गर्छौं र अरू कसैलाई हाम्रो भाग्यको निर्णय गर्न दिँदैनौं’, उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे।
बिहीबार एक भाषणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँगको द्वन्द्वमा इरान विजयी भएको संकेत गरेका थिए। उनले इरानको आणविक स्थलहरूमा आक्रमण गरेर अमेरिकाले ‘केही पनि हासिल नगरेको’ पनि बताएका थिए।
असार १४, २०८२ शनिबार ०७:५०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।