प्रधानमन्त्री ओली आज स्पेन जाँदै

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ (एफएफडि-४) मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्पेन जाने भएका छन्।
स्पेनको सेभिल्ला शहरमा असार १६ देखि १९ गतेसम्म चल्ने यस सम्मेलनका लागि प्रधानमन्त्री ओली राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेका हुन्।
सम्मेलनमा विश्वभरका सरकार प्रमुख, विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालले अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको आवाजलाई प्राथमिकता दिँदै लगानी प्रतिबद्धता कार्यान्वयनका विषयमा वकालत गर्नेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। उनले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, विभिन्न मुलुकका नेताहरूसँग पनि ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिडका लागि प्रस्थान गर्नेछन्। उनी असार २० गते शुक्रबार साँझ ४ः४५ बजे स्वदेश फर्कने तालिका छ।
यो उच्चस्तरीय भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धि र स्पेनलगायत युरोपेली मुलुकबाट पर्यटक आकर्षणमा योगदान पुग्ने विश्वास गरिएको छ।
२९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सहसचिवसहित २१ जना काठमाडौँबाट सहभागी हुनेछन्।
बाँकी ८ जना स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत स्पेन र न्युयोर्कबाट प्रतिनिधिमण्डलमा थपिनेछन्।
असार १४, २०८२ शनिबार ०७:२२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।