कोभिडपछिको उत्कृष्ट नतिजा आएको एसईई : उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्यो, कता जाला खारेजीको बहस?

कोभिडपछिको उत्कृष्ट नतिजा आएको एसईई : उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्यो, कता जाला खारेजीको बहस?
एआईबाट बनाइएको तस्बिर

काठमाडौं : बिहानैदेखि निकै चासोका साथ हेरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसईई) २०८१ को परीक्षाफलमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भए।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार राति पत्रकार सम्मेलनमार्फत गत वर्षभन्दा केही सुधार आएको बताउँदै एसईई २०८१ को परीक्षाफल सार्वजनिक गर्यो। यसअघिको एसईईमा जम्मा ४८ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका थिए।

विद्यालय शिक्षामा ग्रेडिङ प्रणाली लागु भएपछि कोभिडको समयमा आन्तरिक मूल्याङ्कन प्रणालीबाटै सार्वजनिक गरिएको नतिजाबाहेक ६० प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड हुन सफल भएको यो पहिलो सकारात्मक नतिजा हो।

२०६६ सालमा कक्षा दशको परीक्षा ‘एसएलसी’ कै रूपमा चिनिँदा लामो समयपछि ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। त्यसपछि एसएलसी एसईईमा रूपान्तरण हुँदै ग्रेडिङ प्रणालीसम्म आइपुग्दा पचास प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड हुन सकेनन्।

कोभिडको समयमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालयबाटै भएको मूल्याङ्कनलाई राष्ट्रिय मूल्याङ्कन मानिँदै सार्वजनिक गरियो। जसमा कक्षा दशको परीक्षा इतिहासमै सबैभन्दा बढी ९३.५७ प्रतिशत विद्यार्थी २.८ जीपीएदेखि ४ जीपीएसम्म ल्याएर ग्रेडेड भएका थिए।

कतिपय शिक्षकहरू नै कोभिडको बेलाको नतिजालाई ‘पूर्ण विश्वास गर्न नसकिने’ मान्छन्। केही शिक्षकहरू त त्यसबेलामा मनपरी मूल्याङ्कन गरेको स्वीकार्छन् पनि।

माथिल्लो वर्गमा ग्रेडेड विद्यार्थीको बाहुल्यता
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपालि नियमित परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये ४८ हजार १७७ जना विद्यार्थीहरूले ३.६ जीपीएदेखि ४ जीपीएमा ग्रेडेड भएका छन्। लेटर ग्रेडिङ निर्देशिकाअनुसार यस वर्गमा ग्रेडेड हुने विद्यार्थीलाई अत्युत्तमदेखि सर्वोत्तम वर्गको मानिन्छ।

कोभिडको समयमा आन्तरिक मूल्याङ्कनबाट भएको नतिजाबाहेक हेर्ने हो भने माथिल्लो वर्गमा यति धेरै विद्यार्थीहरू ग्रेडेड भएको पनि ग्रेडिङ प्रणालीमा पहिलो पटक हो। कोभिडको समयमा ७० हजारभन्दा बढी विद्यार्थीहरू यस वर्गमा ग्रेडेड भएका थिए।

चौतर्फी आलोचना भएपछि कोभिडपश्चात् बोर्डले नै सञ्चालन गरेको लगत्तैको २०७८ को एसईई परीक्षामा भने यस वर्गमा जम्मा ९ हजार ६७८ जना विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

त्यस्तै, यसपालि ३.२ जीपीएदेखि ३.६ जीपीएसम्म ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ जीपीएदेखि २.८ जीपीएसम्म ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीएसम्म ४ हजार १२६ जना, १.६ जीपीएदेखि २ जीपीएसम्म ८ जना ग्रेडेड भएको अध्यक्ष शर्माले जनाए।

यी ग्रेडेड संख्यालाई पनि यसअघिको नतिजासँग तुलना गर्दा बढेको देखिन्छ। तल्लो वर्गमा ग्रेडेड हुने विद्यार्थीको संख्याभन्दा माथिल्लो वर्गमा ग्रेडेड हुने विद्यार्थीको संख्या बढेको देखियो।

कुनै निश्चित अंक नदिई सम्बन्धित विषयहरूमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई निश्चित मानकका आधारमा ग्रेडेड गर्नुनै लेटर ग्रेडिङ प्रणाली हो। यस प्रणालीमा कोही पनि पास/फेल हुँदैनन्। यसमा ग्रेडेड/अग्रेडेड हुने हुन्छ।

ग्रेडेड भएका विद्यार्थीले सहजै माथिल्लो तहमा पढ्न पाउँछन्। अग्रेडेड भएका विद्यार्थीले भने फेरि परीक्षा दिन पाउने सुविधा पनि पाउँछन्।

प्रदेशगत हिसाबले भने यसपालि कोशी प्रदेशमा ४७ हजार ८३५, मधेश प्रदेशमा ५९ हजार ७४९, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७, गण्डकी प्रदेशमा ४७ हजार ८४९, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७, कर्णाली प्रदेशमा ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्।

गणित सुध्रिएन
विषयगत हिसाबले यस पटक पनि गणितमा धेरै विद्यार्थीहरू कमजोर भएको नतिजा देखियो। गणितमा मात्र यस पटक १ लाख २८ हजार २१५ विद्यार्थी नन-ग्रेडेड (एनजी) भए।

त्यसैगरी, अंग्रेजीमा ८० हजार ६७२ जना, विज्ञानमा ७९ हजार २७१ जना, नेपालीको सैद्धान्तिकमा ५४ हजार ७३५ जना र सामाजिकमा ५३ हजार १८६ विद्यार्थीहरूको एनजी आयो।

यस वर्ष जम्मा १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ग्रेडेड हुन सफल भएनन्। एनजी आउने विद्यार्थीहरूका लागि भनेर यही साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने समेत अध्यक्ष शर्माले पत्रकार सम्मेलनमार्फत नै जनाए।

गत वर्षजस्तै यस वर्ष पनि सबै विद्यार्थीहरूले सबै एनजी लागेका विषयमा फेरि परीक्षा दिन पाउने उनले बताए।

२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो। जसमा सामुदायिक, संस्थागत, गुरुकुल, गुम्बा, मदरसासहितका विद्यालयहरू संलग्न भएका थिए। परीक्षामा जम्मा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।

त्यसैगरी यसपालि जापानमा एउटा र नेपालमा २ हजार ७९ वटा गरेर जम्मा २ हजार ८० परीक्षा केन्द्र तोकिएको थियो। यसमा ७७ हजार ८१७ जनशक्ति परिचालन गरेको बोर्डले जनाएको छ।

एसईई खारेजको बहसले कस्तो रूप लेला ?
शिक्षक आन्दोलनका कारण नतिजा प्रकाशन अझै ढिला हुने हो कि भन्ने आशंका गरिए पनि करिब एक हप्ता मात्र ढिला भएको उनले बताए।

बोर्ड अध्यक्ष शर्माले ‘अपेक्षा गरिएभन्दा राम्रो नतिजा आएको, यसले अझै पढ्नु पर्ने रहेछ भन्ने भावना विद्यार्थीहरूमा जगाएको कारण आगामी दिनमा एसईईको नतिजा झन् सुधारिँदै जाने’ पनि बताए।

शुक्रबार दिनभरको एसईई नतिजाको जुन माहोल बन्यो, त्यसले अझै पनि यसको ‘लिगेसी’ रहिरहेको देखियो। एसईई खारेज गर्नुपर्ने बहस भइरहेको समयमा विद्यार्थी, अभिभावक, शिक्षकहरूको जुन कौतुहलता देखियो, त्यसले अझै पनि यस परीक्षाको महत्व छर्लङ्ग पार्यो।

नतिजा सार्वजनिक भए लगत्तै प्रधानमन्त्रीको शुभकामनाले एसईईप्रति विद्यार्थीदेखि प्रधानमन्त्रीसम्मको चासो रहेको कुरा नकार्न सकिँदैन। यस्तो अवस्थामा एसईई खारेजीको प्रस्ताव कमजोर भएको बोर्डका सदस्यहरू नै बताउँछन्।

‘एसईईबाहेक नेपालमा अन्य कुनै पनि परीक्षा यति धेरै चासोको विषय हुँदैन। यदि एसईई खारेज भयो भने शिक्षाप्रति जनमानसको चासो कस्तो छ भनेर थाहा पाउन पनि मुस्किल नै हुन्छ,’ बोर्डका एक सदस्यले भने।

त्यस्तै कक्षा दशका परीक्षा नियन्त्रक डा. गोविन्द प्रसाद भट्टराई भन्छन्, ‘हामीले यस्तो हुनुपर्छ/हुनुहुँदैन भनेर भन्न त मिल्दैन। हामी त कार्यान्वयन मात्र गर्ने हो। तर एसएलसीको जुन लिगेसी छ, त्यसलाई ग्रेडिङ प्रणालीमा भएका कमीकमजोरीहरू सुधार गर्दै अगाडि बढ्नु पर्छ।’

‘एसईईप्रति खुलेर अपनत्व लिन नचाहेका केही स्थानीय सरकारले यस नतिजापछि केही झुकाव राख्छन् कि’ भन्ने आशावादी हुन सकिने उनको भनाइ छ।

असार १३, २०८२ शुक्रबार २३:३४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।