एसईई नतिजामा गणितको चिन्ता कायमै, एक लाख ६७ हजार विद्यार्थी नन-ग्रेडड हुँदा पनि प्रधानमन्त्रीलाई भने जस लिनै चटारो

एसईई नतिजामा गणितको चिन्ता कायमै, एक लाख  ६७ हजार विद्यार्थी नन-ग्रेडड हुँदा पनि प्रधानमन्त्रीलाई भने जस लिनै चटारो

काठमाडौं : शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० अर्थात माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्यो।

नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भए। एसईईको नियमित परीक्षामा यसपाली चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए।

गत वर्षको तुलनामा यस वर्षको नतिजामा केही सुधार देखियो। २०८० को एसईईमा ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी ग्रेडेड हुँदा भएकोमा यस वर्ष १३.९५ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भए।

जीपीएअनुसार विद्यार्थी सङ्ख्या:
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये विभिन्न जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस प्रकार छ:

३.६ देखि ४ जीपीए: ४८ हजार १७७ जना
३.२ देखि ३.६ जीपीएसम्म: ८१ हजार ३५५ जना
२.८ देखि ३.२ जीपीएसम्म: ९९ हजार १२४ जना
२.४ देखि २.८ जीपीएसम्म: ४८ हजार ४७९ जना
२ देखि २.४ जीपीएसम्म: ४ हजार १२६ जना
१.६ देखि २ जीपीएसम्म: ८ जना

कुल सहभागी र नन-ग्रेडेड विद्यार्थी:
२०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

बोर्डका अनुसार, १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द गरिएको छ। यस वर्ष कुल १ लाख ६७ हजार ५९७ जना विद्यार्थी नन-ग्रेडेड भए।

सबैभन्दा बढी गणितमा नन-ग्रेडेड:
बोर्डद्वारा प्रकाशित नतिजाअनुसार, यस वर्ष सबैभन्दा बढी विद्यार्थी गणित विषयमा नन-ग्रेडेड भए। गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी नन-ग्रेडेड भएका छन्, जुन कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो सङ्ख्या हो। अन्य विषयहरूमा नन-ग्रेडेड हुने विद्यार्थीको सङ्ख्या यस्तो छ:

अंग्रेजी: ८० हजार ६७२ जना
विज्ञान प्रविधि: ७९ हजार २७१ जना
नेपाली थ्योरी: ५४ हजार ७३५ जना
सामाजिक अध्ययन: ५३ हजार १८६ जना
अर्थशास्त्र: ४२ हजार १५० जना
अप्सनल म्याथ: १८ हजार २२२ जना

प्रधानमन्त्रीलाई नतिजा सुधारको जस लिनै चटारो:
एसईई उत्तीर्ण हुने परीक्षार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। उनले यस वर्षको नतिजा सुधार भएकोमा खुसी व्यक्त गर्दै जस आफू नेतृत्वको सरकारले लिनै हतार गरेका छन्।

उनले गत वर्षको ४७.८६ प्रतिशतको तुलनामा यस वर्ष ६१.८१ प्रतिशतले ग्रेड प्राप्त गरेको र यो बितेको वर्षमा नतिजा सुधार गर्न गरिएको मेहनतको परिणाम भएको उल्लेख गरेका छन्।

पुनर्योग र मौका परीक्षाको व्यवस्था:
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने विद्यार्थीका लागि पुनर्योगको व्यवस्था गरेको छ। पुनर्योगका लागि परीक्षार्थीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र यसका लागि असार २३ गते बेलुका ५ बजेसम्मको समय तोकिएको छ। मुल नतिजामा प्राविधिक कारणले त्रुटी देखिएमा मूल अभिलेखबाट सच्याइने बोर्डले जनाएको छ।

साथै, बोर्डले नन-ग्रेडेड भएका विद्यार्थीका लागि मौका परीक्षाको पनि व्यवस्था गरेको छ। यस वर्ष नन-ग्रेडेड भएका १ लाख ६७ हजार ५९७ जना सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्।

परीक्षा नियन्त्रक डा. गणेश प्रसाद भट्टराईका अनुसार, गत वर्षको निर्देशिका संशोधनअनुसार दुईभन्दा बढी विषयमा नन-ग्रेडेड भएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुने व्यवस्था गरिएको छ। पहिला दुई विषयसम्म मात्र नन-ग्रेडेड भएकाले मौका परीक्षा दिन पाउँथे। मौका परीक्षा २०८१ साउन २९ गतेदेखि सञ्चालन हुनेछ।

मधेश प्रदेशमा नन-ग्रेडेड विद्यार्थी सबैभन्दा बढी:
नियमिततर्फ परीक्षामा सहभागी विद्यार्थीमध्ये सबैभन्दा धेरै नन-ग्रेडेड हुने प्रदेश मधेश प्रदेश रहेको छ। मधेशमा ५९ हजार ७४९ परीक्षार्थीमध्ये ४२ हजार ७७९ जना नन-ग्रेडेड भएका छन्।

सबैभन्दा कम नन-ग्रेडेड विद्यार्थी भएकोमा बागमती प्रदेश रहेको छ, जहाँ १ लाख १९ हजार ५१७ सहभागीमध्ये २० हजार ९४७ विद्यार्थी नन-ग्रेडेड भएका छन्। अन्य प्रदेशहरूमा नन-ग्रेडेड विद्यार्थीको सङ्ख्या यस्तो छ:

कोशी प्रदेश: ४७ हजार ८३५ सहभागीमध्ये २३ हजार ६३१ नन-ग्रेडेड
गण्डकी प्रदेश: ४७ हजार ८४९ सहभागीमध्ये ११ हजार ३२८ नन-ग्रेडेड
लुम्बिणी प्रदेश: ५७ हजार ६८७ सहभागीमध्ये २८ हजार २७४ नन-ग्रेडेड
कर्णाली प्रदेश: ४६ हजार ४५५ सहभागीमध्ये १३ हजार ७६५ नन-ग्रेडेड
सुदूरपश्चिम प्रदेश: ५९ हजार ८०४ सहभागीमध्ये २६ हजार ८७४ नन-ग्रेडेड

समग्रमा, यस वर्षको एसईई नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिए पनि गणित लगायतका विषयमा अझै पनि ठूलो सङ्ख्यामा विद्यार्थी नन-ग्रेडेड हुनु शिक्षा क्षेत्रका लागि चुनौतीको रूपमा कायमै छ।

नन-ग्रेडेड भएका विद्यार्थीका लागि तोकिएको समयमा मौका परीक्षामा सहभागी भई अर्को अवसरको सदुपयोग गर्न बोर्डले आग्रह गरेको छ।

असार १३, २०८२ शुक्रबार २२:३१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।