पूजाले एक वर्षपछि मिडियामा आएको भन्दा सबै छक्क

काठमाडौं : पूजा शर्माको बेला बेलामा चर्चा नचल्ने होइन। उनी चर्चाका लागि भएपनि केही युटुबरहरूलाई साथमा लिएर हिड्छिन्। चाहे आफ्नो जन्मदिनमा होस् वा सवारी साधन किन्दा होस्। तर पूजा शर्माले शुक्रबार भने मज्जै ढाँटिन्। आफू मिडियामा नआएको एक वर्ष भइसकेको भनेर।
उनको पछिल्लो फिल्म 'रावायण' भदौंमा रिलिज भएपछि आफू मिडियामा नआएको उनको भनाइले धेरैलाई चकित बनायो। किनभने अधिकांशले करिब एक महिनाअघि उनको जन्मदिनको दिन युट्युबका लागि भिडियो अन्तर्वार्ता लिएका थिए। त्यो भन्दा अघि उनले किनेको नयाँ कारको मूल्य ७५ लाख भन्दै खिचिएको थियो। त्यतिबेला पनि युट्युबमा पूजाका भिडियो प्रशस्तै देखिन्थे।
उनले आफू एक वर्षदेखि मिडियामा नआएको भन्दा दर्शक झुक्किन सक्लान तर मिडियाकर्मीले के पत्याउँथे र? उनीहरू चकित परे।
आफ्नै बोलीको सिकार बन्दै आएकी पूजामा खुशी भन्दा पनि फरक मुड देखिन्थ्यो। अरू बेला जस्तो सहज रूपमा भन्दा उनको बोलीमा कडकाई थियो। गत भदौ २१ मा फिल्म 'रावायण' नचल्दाको तनावले हो कि, फेरि चर्चामा आउन हो, उनी मिडियाका अगाडि निकै कडकिइन्।
चर्चा र पूजा शर्मालाई एकअर्काको परिपूरक भनेपनि फरक नपर्ला तर यो कार्यक्रममा भने उनमा बेग्लै खालको आक्रोश देखिन्थ्यो। उनले केही गतिला कुरा नगरेकी भने होइन्।
उनले आफूले अभिनय गरेको फिल्म 'दानवी'मा २५ लाख पारिश्रमिक लिएको तर उक्त फिल्म नचल्दा १० लाख फिर्ता गरेको बताइन्। उनले यो कुरालाई कतै न कहिल्यै गरेकी थिइन्, न सामाजिक सञ्जालमा नै लेखिन्, न कसैलाई सुनाइन्।
फ्लप फिल्मको चर्चा हुँदा, मैले पारिश्रमिक फिर्ता गरेको कुरा किन नलेखेको भन्ने चित्त दुखाइ पनि उनमा हुनु स्वाभाविक हो। किनभने कलाकार निर्मल शर्माले आफूले खेलेको फिल्म फ्लप भएको खण्डमा ६६ प्रतिशत पैसा फिर्ता गर्छु भन्दा त समाचार बने। उनी त डिमान्डेड हिरोइन नै हुन, समाचार नबन्ने कुरै थिएन। समाचार मात्र होइन, फिल्मका लागि अफर गर्ने निर्माताको के कमी हुन्थ्यो र?
तर आफूले खेलेको फिल्म चलेन, मैले १० लाख फिर्ता नै गरिदिए भनेको भए पूजाको के नै जान्थ्यो र? न उनको मानमा आँच आउन्थ्यो, न भाउँ घट्थ्यो। बरु दुईगुना बढेरै जान्थ्यो।
तर मनमा गुम्सिएर मिडियामा आएन भन्दैमा त्यसरी सबैका अगाडि कड्किनु त भएन नी हैन र? कार्यक्रम एउटा गफ अर्को हुँदा चर्चाकै लागि त मिठास हुन्न है पूजा जी।
असार १३, २०८२ शुक्रबार २१:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।