विद्यार्थीका लागि गणित विषय टाउको दुखाइ, १ लाख २८ हजार भए ननग्रेडेड

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा धेरै विद्यार्थी गणित विषयमा ननग्रेडेड भएका छन्। राष्ट्रिय परिक्षा बोर्डका अनुसार गणितमा १ लाख २८ हजार २ सय १५ जना परीक्षार्थी ननग्रेडेड भएका छन्।
विज्ञानमा ७९ हजार २ सय ७१ जना, अङ्ग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना र सामाजिक विषयमा ५३ हजार १८६ जना ननग्रेडेड भएका छन्। साथै अनिवार्य गणितमा ३७ हजार ९ सय १८ विध्यार्थीले ‘ए प्लस’ ल्याएका छन्। यो वर्ष कुल ६१ .८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो वर्षको अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुधार देखाएको छ। अघिल्लो वर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।
बोर्डले नतिजा प्रकाशित भएपछि विद्यार्थीले आफ्ना ग्रेडहरू आधिकारिक वेबसाइट, एसएमएस सेवा र मोबाइल एप्समार्फत हेर्न सक्ने जानकारी दिएको छ। प्रारम्भिक समयमा जीपीए (ग्रेड पोइन्ट एभरेज) मात्र देखिने र पूर्ण ग्रेडसिट अपलोड हुन केही समय लाग्ने बोर्डले स्पष्ट पारेको छ।
फेल भएका विद्यार्थीलाई लक्षित गर्दै ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि सञ्चालन गरिने भएको छ। बोर्डले ग्रेड वृद्धि परीक्षाको विस्तृत कार्यक्रम चाँडै सार्वजनिक गर्ने जनाएको छ।
असार १३, २०८२ शुक्रबार २०:१७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।