सुशान्तपछि एकदेवको झिमझिम गर्ने आँखामा हिन्दी भर्सनमा, म्युजिक क्याटगरीको ट्रेन्डिङ १५ मा

सुशान्तपछि एकदेवको झिमझिम गर्ने आँखामा हिन्दी भर्सनमा, म्युजिक क्याटगरीको ट्रेन्डिङ १५ मा

काठमाडौं : सामाजिक सञ्जालको प्रभाव, युट्युबमा लोकप्रिय भएका नेपाली गीतहरू एकपछि अर्को गर्दै भारतको चर्चित म्युजिक कम्पनीहरूले हिन्दी भर्सनमा रेकर्ड गर्न थालेका छन्।

एक महिना अगाडि गायक सुशान्त केसीले गाएको बार्दली गीतको हिन्दी भर्सन ‘उफ्’ टी-सिरिजले म्युजिक भिडियोसहित सार्वजनिक गरेको थियो। म्युजिक भिडियोमा सुशान्तसँगै नेपाली अभिनेत्री स्वस्तिमा खड्का फिर्चड भएको यो गीत करिब १० मिलियन पटक हेरिसकिएको छ। यता नेपाली भर्सनको ‘बार्दली’ को म्युजिक भिडियो ९१ मिलियन पटक हेरिसकिएको छ।

यो बिचमा एकदेव लिम्बुको अर्को गीत ‘झिम झिम गर्ने आँखाले’ पनि निकै लोकप्रिय भयो। त्यसको हिन्दी भर्सन भारतीय म्युजिक च्यानल प्लेएफएमले शुक्रवार सार्वजनिक गर्यो। यो गीत सार्वजनिक भएको पाँच घण्टामै म्युजिक क्याटगरीको ट्रेन्डिङको १५ औँ नम्बरमा परिसकेको छ।

यो गीतको म्युजिक भिडियो झिमझिम शीर्षकमै आएको छ भने फिमेल प्लेब्याकमा नेहा कक्कडले एकदेवलाई साथ दिएकी छिन्। एकदेवले ६ महिना अगाडि सार्वजनिक गरेको गीत ३२ मिलियन पटक युट्युबमा हेरिसकिएको छ।

अर्को लोकप्रिय गीत ‘दुस्मन हेरेको हेर्यै’ लाई हिन्दी भर्सनमा निकाल्न टी-सिरिजले सम्पर्क गरेको गायक दुर्गेश थापाले एक पडकास्टमा सार्वजनिक गरेका थिए। तर त्यो गीत के भइरहेको छ सार्वजनिक भएको छैन।

तर बार्दली र झिमझिमको भारतीय संगीत बजारमा भएको प्रवेशले नेपाली गीतको बजार विस्तारलाई भने फैलाउन पक्कै सहयोग पूर्याएको नै देखिन्छ। जुन रूपमा यी दुवै गीतले युट्युबमा भ्यूज पाइरहेको छ यसले हिन्दी भाषीहरूले नेपाली म्युजिक र गायकहरूको स्वर मन पराएको देखिन्छ।

असार १३, २०८२ शुक्रबार १६:४५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।