१३ करोडमा तीन तले घरसहितको १९ आना जग्गा किन्दै कांग्रेस, ५० लाख बैना बुझाइयो, बाँकी कार्यकर्ताबाट उठाइने

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपा परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउने उद्देश्यसहित १३ करोड रुपैयाँमा तीन तले घरसहितको १९ आना जग्गा खरिद गर्ने भएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, खरिद गरिएको जग्गा पार्टी कार्यालयकै अगाडि पर्छ। यो एक रोपनी तीन आना तीन पैसा बराबरको जग्गा ललितपुरका अमिर मान अमात्यको स्वामित्वमा रहेको थियो।
असार ११ गते कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा मालिकसँग खरिद सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार, ५० लाख रुपैयाँ बैना दिइएको छ भने एक वर्षभित्र जग्गा पास गर्ने प्रक्रिया पूरा गरिनेछ।
कांग्रेसले १३ करोड रुपैयाँ जुटाउन पार्टीका विभिन्न तहका लेवी, शुभेच्छुकको सहयोग, तथा सहभागितामूलक अभियान सञ्चालन गर्ने जनाएको छ। खरिदमा सबैको अपनत्वसहित रकम संकलन गरिने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सानेपा कार्यालय परिसरको विस्तारबाट पार्टीका गतिविधिहरू अझ प्रभावकारी, सुविधासम्पन्न र कार्यकर्तामैत्री हुने कांग्रेसको अपेक्षा छ।
असार १३, २०८२ शुक्रबार १५:२८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।