सिन्धुपाल्चोकमा निर्मला घटना सम्झाउने अपराध, १६ वर्षीय किशोरीको बलात्कारपछि हत्या

काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका १६ बर्सिया किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको छ। प्रहरीका अनुसार भोटेकोसी गाउँपालिका–५ की निशा तामाङको बलात्कारपछि हत्या भएको हो। प्रहरीले नग्न अवस्थामा उनको शव फेला पारेको थियो।
उनको असार १० मा हत्या भएको र उनको बलात्कार तथा हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परिसकेका छन्। प्रहरीले बलात्कार र हत्या आरोपीहरु भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेको सार्वजनिक गरेको छ।
बालिकाको परिवारले निशाको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिइसकेका छन्। प्रहरीका अनुसार किशोरीको असार १० मा बलात्कार र हत्या भएको थियो। असार ११ मा उनको शव फेला परेको थियो। प्रहरीले काठमाडौंको शिक्षण अस्पतालको फरेन्सिक विभागमा ल्याएर शवको पोस्टमार्टम गराउँदा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।
घरबाट करिब चार सय मिटरको दुरीमा रहेको जंगलमा किशोरीको शव फेला परेको थियो। छ्यादीखोला जंगलको खोल्सामा शव नग्न अवस्थामा फेला परेकाले प्रारम्भमा बलात्कारपछि हत्या भएको शंका भएको थियो।
नजिकैको बारीमा किशोरीको सामूहिक बलात्कारपछि हत्या गरेर शव खोल्सामा लगेर फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ।
२०७५ साउन १० मा कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो। सो घटनाको अहिलेसम्म पनि अनुसन्धान सफल हुन सकेको छैन।
असार १३, २०८२ शुक्रबार १५:१७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।