उल्लासपूर्ण रूपमा सकियो गहवामाईको रथयात्रा

उल्लासपूर्ण रूपमा सकियो गहवामाईको रथयात्रा

रौतहट : धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्त्व बोकेको गहवामाईको रथयात्रा यस वर्ष पनि उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ। वीरगञ्जस्थित गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसर पारेर यो तेस्रो रथयात्रा आयोजना गरिएको हो।

रथयात्रा आयोजनाको जिम्मेवारी गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठन गरिएको रथयात्रा धार्मिक समन्वय समितिले लिएको थियो। समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार, रथयात्रा गहवामाई मन्दिरबाट सुरु भई घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः मन्दिरमै पुगेर सम्पन्न भएको हो।
रथयात्राको अवसरमा छपन्न भोग, भजन–कीर्तन, महाप्रसाद र भव्य भन्डारा कार्यक्रम पनि गरियो।

रथयात्रा निर्धारित समयभन्दा केही ढिला निस्किए पनि सुरक्षा व्यवस्थालाई चुस्त बनाइएकाले कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

समितिका अनुसार रथयात्रामा एक लाखभन्दा बढी श्रद्धालु सहभागी भएका थिए। भारतका रक्सौल, मोतिहारी, बेतिया, रामगढवा लगायत नेपालका बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंबाट समेत उल्लेखनीय संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।

असार १३, २०८२ शुक्रबार १५:१०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।