चीनमा गर्मी मौसमको लोकप्रिय परिकार ‘आइस राइस’

एजेन्सी : नेपालमा खासै परिचित नभए पनि चीनमा गर्मी लागेपछि ‘बरफको भात’ अर्थात् ‘आइस राइस’ अत्यधिक लोकप्रिय बन्दै गएको छ। विशेषगरी पूर्वी चीनको फुझोउ सहरमा यो चिसो परिकार गर्मी मौसमको स्वादिलो रोजाइ बन्न पुगेको हो।
बरफ मिसाइएको चिसो भातमा ताजा फलफूल, बदाम, जेलो टुक्रा र दूध मिसाइन्छ। गर्मीको तातोबाट राहत दिने यो परिकार फुर्सदको बेलामा खाने हल्का र स्वादिलो विकल्पका रूपमा लिइन्छ।
स्थानीय व्यापारी गाओ यानकिङ यो परिकार बेच्न थालेको २५ वर्ष नाघिसकेको छ। अहिले उनले दिनहुँ १,५०० भन्दा बढी कचौरा आइस राइस बेच्ने गरेका छन्। ‘गर्मीमा ग्राहकहरूले आधा घण्टा लाइन बस्न पनि तयार हुन्छन्,’ उनले भने। कतिपय ग्राहक त आफ्नै कचौरा बोकेर पनि आइपुग्ने गर्छन्।
फुझोउमा हरेक वर्ष आयोजना गरिने आइस राइस फेस्टिवल ले त झनै पर्यटकहरूको ध्यान तानेको छ।
वाणिज्य ब्यूरोका अनुसार, फुझोउ क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू सञ्चालनमा छन्, जसबाट लाखौं डलर बराबरको राजस्व उठ्ने गरेको छ। चाङ्ले क्षेत्रमा मात्र २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस राइस रेस्टुरेन्ट सक्रिय छन्।
असार १३, २०८२ शुक्रबार १४:५१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।