लिची बेचेर गोरखाका किसानले ११ करोड कमाए

गोरखा : गोरखाका किसानले यस वर्ष लिची बिक्रीबाट झन्डै ११ करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो १ करोड १५ लाख रुपैयाँले बढी हो। कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार, उत्पादन र आम्दानी दुवैमा उल्लेख्य वृद्धि भएको हो।
‘गत वर्ष लिची बिक्रीबाट करिब १० करोड रुपैयाँको आम्दानी भएको थियो,’ प्रमुख बस्ताकोटीले भने, ‘यसपाली त्यो रकम ११ करोड नाघेको छ।’ उनले यो उपलब्धिको श्रेय मौसमको अनुकूलता र किसानको मेहनतलाई दिए। ‘समयमै औषधि छरेर, मलजल र सिँचाइ राम्रोसँग मिलाएपछि उत्पादन आफैं राम्रो भएको हो,’ उनले भने।
यस वर्ष १ हजार ७१६ मेट्रिक टन लिची उत्पादन भएको छ, जुन अघिल्लो वर्षको १ हजार ५९७ मेट्रिक टन भन्दा बढी हो। १८७ हेक्टर क्षेत्रमा लिची खेती भएको यो वर्ष, गत वर्ष १८० हेक्टर मा मात्रै लिची लगाइएको थियो। लिची प्रतिकेजी औसत रु ६५ मा बिक्री भएकोले किसानले राम्रो आम्दानी गरेका हुन्।
गोरखाको पालुङटार नगरपालिका लिचीखेतीको प्रमुख क्षेत्र मानिन्छ। पालुङटारका वडा नम्बर ६, ७ र ८ मा मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ। ती वडाहरूमा झण्डै ३० हजार लिचीका बोटहरू छन् भने पालुङटारमा मात्रै १५० हेक्टर जमिनमा लिची खेती भइरहेको छ।
असार १३, २०८२ शुक्रबार १४:३३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।