नौ जनाको हत्या गरी शवलाई टुक्रा-टुक्रा पार्ने जापानका ‘ट्विटर किलर’लाई फाँसी

नौ जनाको हत्या गरी शवलाई टुक्रा-टुक्रा पार्ने जापानका ‘ट्विटर किलर’लाई फाँसी

एजेन्सी : सन् २०१७ मा नौ जनाको क्रूरतापूर्वक हत्या गरेका ताकाहिरो शिराइशीलाई जापानमा शुक्रबार फाँसी दिइएको छ।

३४ वर्षीय शिराइशीलाई सामाजिक सञ्जाल ट्विटरमार्फत आत्महत्या गर्न खोज्ने मानिसहरूलाई सम्पर्क गरी हत्या गरेकाले ‘ट्विटर किलर’को उपनाम दिइएको थियो। यो जापानमा पछिल्लो तीन वर्षमा दिइएको पहिलो मृत्युदण्डको सजाय कार्यान्वयन हो।

रिपोर्टका अनुसार, शिराइशीले ट्विटरमा भेटेका मानिसहरूलाई सहयोग गर्ने बहानामा टोकियो नजिकैको आफ्नो अपार्टमेन्टमा बोलाउँथे। त्यसपछि उनीहरूलाई घाँटी थिचेर हत्या गरी शवलाई टुक्रा-टुक्रा पारेर आफ्नो सानो फ्ल्याटको कूलर बक्समा लुकाउने गर्थे। उनका नौ जना पीडितमध्ये आठ जना महिला थिए, जसको उमेर १५ देखि २६ वर्षबीच थियो।

जापानका न्यायमन्त्री केइसुके सुजुकीले धेरै विचार-विमर्शपछि शिराइशीको मृत्युदण्डलाई अनुमोदन गरेको बताए। उनले शिराइशीको अपराधले समाजमा आतंक फैलाएको उल्लेख गरे।

मृत्युदण्डको सजाय कायम राख्ने जी७ समूहका देशहरूमध्ये जापान र अमेरिका मात्र छन्। जापानमा मृत्युदण्ड झुण्ड्याएर दिइन्छ र कैदीलाई सजाय कार्यान्वयनको केही घण्टाअघि मात्र जानकारी गराइन्छ। मानव अधिकारवादी संस्थाले यस्तो अचानक जानकारीले कैदीमा गम्भीर मानसिक तनाव दिने भन्दै यसको आलोचना गर्दै आएका छन्।

न्यायमन्त्री सुजुकीले भने कि जबसम्म यस्ता खतरनाक अपराधहरू भइरहन्छ, मृत्युदण्ड खारेज गर्नु उचित नहुने धारणा राखेका छन्। सन् २०२४ मा जापानी सरकारले गरेको एक सर्वेक्षणमा ८३ प्रतिशत मानिसहरूले मृत्युदण्ड ‘आवश्यक’ भएको बताएका थिए। हालसम्म जापानमा १०५ कैदीलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

यसअघि, सन् २०२२ मा तोमोहिरो कातोलाई सन् २००८ मा टोकियोको अकिहाबारा क्षेत्रमा भीडमा ट्रक जोताएर सात जनाको हत्या गरेको अभियोगमा फाँसी दिइएको थियो।

सन् २०१८ मा भने ओम शिनरिक्यो सम्प्रदायका नेता शोको असाहारा र उनका १२ अनुयायीहरूलाई सन् १९९५ मा टोकियो सबवेमा सरिन ग्यास आक्रमण गरी १४ जनाको ज्यान लिएको र हजारौंलाई बिरामी पारेको अभियोगमा फाँसी दिइएको थियो।

असार १३, २०८२ शुक्रबार १४:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।