डा. सशाङ्क भन्छन्- गिरिजाले ५१ सालमा ठूलो गल्ती गर्नुभो, राजा नै ठिक नभएसी किन चाहियो?

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाङ्क कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोराका रूपमा उनको जन्म विराटनगरमा भएको हो। बाल्य उमेरमा नै भारत निर्वासनमा रहेका प्रतिनिधिसभा सदस्य कोइराला पेसागत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ छन्।
विसं २०४६ र २०६३ मा जनआन्दोलनका क्रममा केही समय प्रहरी हिरासतमा रहेका नेता कोइरालाले चिकित्सक पेसाबाट बाहिरिएपछि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, दुई पटक केन्द्रीय सदस्य हुँदै १३औं महाधिवेशनमा पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हाले।
पूर्वमहामन्त्री कोइराला २०६४ साल र २०७० सालमा संविधानसभा सदस्य तथा २०७४ साल र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। प्रतिनिधिसभा सदस्य कोइरालासँग राससले संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, देशको आर्थिक विकासलगायत समसामयिक विषयमा गरेको अन्तर्वार्ताको सम्पादित अंशः
अहिलेको संसदीय अभ्यास कस्तो पाउनुहुन्छ?
प्रजातन्त्रमा सन्तुलन हुनुपर्छ। एउटा सत्ता पक्ष हुन्छ, अर्को प्रतिपक्ष। प्रतिपक्षी पार्टीले सरकारलाई सतर्क गराउने काम गर्छ। सत्ता पक्षले पनि प्रतिपक्षलाई प्रश्न गर्ने पर्याप्त ठाउँ दिनुपर्छ। अहिले शक्तिशाली सरकार छ। हामीलाई एउटा डर छ कि शक्तिशाली सरकार धेरै नै शक्तिशाली भयो भने प्रतिपक्षको आवाजलाई बेवास्ता गर्न सक्छ।
त्यसैले सरकार सन्तुलित हिसाबले अघि बढ्नुपर्छ। प्रतिपक्षको कुरा सुन्नुपर्छ र जायज माग पूरा गर्नुपर्छ। प्रतिपक्षलाई दबाउने, बोल्न नदिने वा कुरा नसुन्ने गर्नु लोकतन्त्रका लागि राम्रो होइन। सरकारले प्रतिपक्षसँग समन्वय गरी कुनै पनि विषयमा निर्णय गर्दा प्रतिपक्षको भावनालाई पनि समेट्नुपर्छ।
संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ?
हामीले राष्ट्रलाई सात प्रदेश बनाएर विकेन्द्रीकरणको परिकल्पना गर्यौँ। तर, शासन अहिले पनि व्यवहारिक रुपमा केन्द्रीकृत नै छ। प्रदेशलाई के चाहिन्छ भन्ने निर्णय गर्ने अधिकार प्रदेशले नै पाउनुपर्छ, सङ्घले त्यसमा हस्तक्षेप गर्नु हुँदैन।
प्रदेशको संरचना हेरेर के गर्दा उपयुक्त हुन्छ, त्यो अनुसार उसले नै आफ्नो योजना बनाउँछ। तर, यहाँ सङ्घबाट प्रदेशमाथि हस्तक्षेप भइरहेको छ, जुन राम्रो होइन। कि त हामी सङ्घीयतामा जान हुन्थेन। सङ्घीयतामा आर्थिक भार पर्यो भन्ने गरिन्छ। यो भार हामी आफैँले सिर्जना गरेका हौँ।
विकेन्द्रीकृत गरेपछि उनीहरूलाई पर्याप्त खर्च गर्ने अधिकार पनि दिनुपर्छ। सबै कुरा केन्द्रले नियन्त्रण गर्ने होइन। प्रदेशलाई थाहा छ, कहाँ-कहाँ खर्च गर्नुपर्छ। त्यो अधिकार पनि प्रदेशलाई नै दिनुपर्छ।
दोस्रो कुरा, समानुपातिक प्रतिनिधित्व आफैंमा राम्रो हो। तर त्यो प्रतिनिधिसभामा होइन, राष्ट्रियसभामा हुनुपर्ने हो। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित प्रतिनिधि मात्रै बस्नुपर्छ। मेरो दृष्टिकोणमा यो गलत भएको छ।
तेस्रो कुरा, अन्तर्राष्ट्रिय मामिलामा बीपी कोइरालाले सुरु गर्नुभएको भारत र चीनसँग समदुरीको नीति आवश्यक छ। भौगोलिक निकटता भारतसँग भए पनि सन्तुलित सम्बन्ध राख्नुपर्छ।
संविधान संशोधनको विषयमा तपाईंको धारणा के छ?
हरेक दश वर्षमा संविधानको समीक्षा हुनुपर्छ। तर, कुन विषयमा संशोधन गर्ने हो, त्यसको आधार स्पष्ट हुनुपर्छ। केका लागि र किन परिवर्तन गर्ने भन्नेमा गम्भीर छलफल हुनुपर्यो। कसैको मन लाग्यो अनि संशोधन गर्ने भन्ने हुँदैन। सन् १७८५ मा अमेरिकामा ५५ जनाले चार महिनामा लेखेको संविधान आजसम्म लागू छ।
सन् १९८५ तिर एक पटक मात्रै संशोधन भयो, त्यो पनि पारिश्रमिक वृद्धिजस्तो सामान्य विषयमा। झण्डै २०० वर्षदेखि त्यही संविधान लागू हुनुले त्यसका निर्माताहरूको दूरदृष्टि देखाउँछ। हामीले पनि त्यसरी काम गर्नुपर्छ। अहिले संशोधनभन्दा कार्यान्वयनमा जोड दिनुपर्छ।
संविधानको पूर्ण कार्यान्वयन नै भइसकेको छैन, अहिले नै संशोधन गरिहाल्ने कुरा हतारो हुन्छ। विकेन्द्रीकरणलाई साच्चिकै विकेन्द्रीकरण गरौँ।
सङ्घीय संरचनालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ?
संविधानमा भएका दुई/तीन वटा कुरा मात्रै परिवर्तन हुँदैनन्। ती हुन् अन्तर्राष्ट्रिय नीति, सेना, मुद्रा र राष्ट्रिय झण्डा। यदि अरू विषयमा संशोधनको आवश्यकता हो भने त्यस विषयमा गम्भीर छलफल हुनुपर्यो। सङ्घले सबै अधिकार मुठीमा कस्ने होइन। सातवटै प्रदेशलाई ‘लौ गर’ भनेर काम गर्ने पूर्ण वातावरण बनाउनुपर्छ।
देशमा सुशासनबारे उठेको प्रश्न सम्बोधन गर्न के गर्नुपर्छ?
सबैभन्दा पहिला मानिसलाई विवेकशील बनाउनुपर्छ। मेरो एक जना दाइ जापान जाँदा एउटा सहरमा ब्याग छोड्नुभयो, तर एक हप्तापछि जाँदा पनि त्यही ठाउँमा थियो। त्यहाँका मानिस विवेकशील छन्, यो मेरो होइन भन्नेमा सचेत छन्। हामीले पनि त्यो किसिमको समाज निर्माण गर्नुपर्यो। यो शिक्षासँग पनि सम्बन्धित छ। हामी कस्तो शिक्षा दिइरहेका छौँ? डाक्टर, इञ्जिनियर, पाइलट र वकिल मात्रै बनाएर हुँदैन, उनीहरूलाई विवेकशील पनि बनाउनुपर्छ।
डाक्टरले बिरामीलाई पूर्ण रुपमा निको पारेको दिन सन्तुष्ट हुनुपर्छ। मैले लाखौँ मानिसको आँखाको अपे्रशन गरेँ। मेरो सन्तुष्टि बिरामीले आँखा देखेको दिनमा हुन्छ, पैसामा होइन। हामी पैसाको मात्रै कुरा गर्ने हो भने नैतिक रुपमा पतन हुन्छौँ। मानिस भ्रष्ट भएर जान्छ। अहिले भ्रष्टाचारको विषय आइरहेको छ, यो नैतिक पतन हो। भ्रष्टाचार विवेक नभएको मानिसले मात्रै गर्छ।
त्यसकारण सुशासनका लागि मानिसमा विवेक र नैतिकता हुनुपर्छ। यदि मानिसमा नैतिकता र विवेक हुने हो भने सुशासन स्वतः कायम हुन्छ। भ्रष्टाचार पूर्णरुपमा निर्मूल गर्न सकिन्न, शून्य सम्भव हुँदैन। तर, न्यूनीकरण भने गर्न सकिन्छ।
मैले संसद्मा पनि भनेको थिएँ, ‘तपाईँ अहिले सय रुपैयाँ घुस खानुहुन्छ भने अब एक रुपैयाँ मात्रै खानुस्।’ अरु देशमा घुस खाए पनि अत्यन्त कम खान्छन्, तर यहाँ जति पनि खाइदिने संस्कार छ। भ्रष्टाचार न्यूनीकरण गर्न कानुनको कडाइका साथ कार्यान्वयन र नेता इमान्दार तथा पारदर्शी हुनुपर्छ।
देशको राजनीतिक व्यवस्थामाथि भइरहेको टीका-टिप्पणीप्रति तपाईंको भनाइ के हो?
बीपी कोइरालाले राजालाई धेरै मान्नुहुन्थ्यो, आठ वर्ष जेल बसेर पनि राजालाई स्वीकार्नुभयो। गिरिजाप्रसाद कोइरालाले पनि राजा मान्नुभयो, उहाँले बेवी किङको कुरा पनि ल्याउनुभयो। तर, पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सबै अधिकार हडपिसकेपछि राजाको ठाउँ रहेन। यस्तो अवस्थामा राजा कसरी ल्याउने? कि त राजपरिवारभन्दा बाहिरबाट ल्याउनुपर्यो, त्यो पनि सम्भव छैन। राजा नै ठीक छैनन् भने हामीलाई किन राजा चाहियो? यो सम्भव छैन।
राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति अहिले जनतामा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिन्छ?
देशमा अहिले हामीले आत्मसात् गरेको शासन व्यवस्था (सङ्घीय लोकतान्त्रिक गणतन्त्र) नराम्रो होइन। मेरो विचारमा कार्यान्वयन तहमा रहेका व्यक्ति (नेता) हरू ठीक भएनन्। कुनै पनि व्यवस्था आफैँमा बेठिक हुँदैन। व्यवस्थामाथि शासन गर्ने व्यक्तिले नै व्यवस्थालाई असफल बनाउने हो। नेपालका लागि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै आजसम्मको उत्तम विकल्प हो। त्यसकारण हामीले व्यवस्थालाई प्रश्न गर्ने होइन, गलत ढङ्गले व्यवस्था सञ्चालन गर्ने व्यक्तिलाई प्रश्न गरौँ।
शासन व्यवस्था परिवर्तन हुँदैगर्दा जनताको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ?
मेरो विचारमा पछिल्लो ४० वर्ष यता सबैभन्दा ‘गोल्डेन इरा’ भनेको २०४८ सालदेखि २०५१ सालसम्म थियो। यो गिरिजाप्रसाद कोइरालाको नेतृत्वको समय थियो। त्यति बेला सञ्चार तथा सूचना प्रविधि, सडक, हवाई क्षेत्र र चिकित्सा क्षेत्रमा धेरै विकासको आधारशिला निर्माण भयो।
उहाँले दिएका कतिपय नीतिगत निर्णयका आधारमा अहिले प्रत्येक नागरिकको हातहातमा मोबाइल छ, यति धेरै हवाईजहाज उडेका छन्, मेडिकल कलेजको सङ्ख्या ह्वात्तै बढेको छ। यसको आधार निर्माण गर्ने काम गिरिजाप्रसादबाटै भएको हो। उहाँले मध्यावधि नगराएर पाँच वर्ष पूरा नेतृत्व गर्नुपर्थ्यो, त्यहाँ गल्ती भएको छ।
रासस
असार १३, २०८२ शुक्रबार १२:२३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।