क्रिकेटका छ नियम परिवर्तन : टी२० को पावरप्लेको शैली बदलियो, टेस्टमा ६० सेकेन्डभित्र ओभर सुरू नगरे ५ रन जरिवाना

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले हालै क्रिकेटका नियमहरूमा महत्वपूर्ण परिवर्तनको घोषणा गरेका छन्।
खेललाई अझ छिटो गति दिने, निष्पक्षता बढाउने र दर्शकका लागि थप मनोरञ्जनात्मक बनाउने उद्देश्यले गरिएका यी परिवर्तनहरूले अब क्रिकेटको ढाँचालाई नयाँ स्वरूप दिने आईसीसीको विश्वास छ।
आईसीसीले ६ वटा नियम सीधा लागू गरेको छ भने अन्य २ वटा नियम पनि समावेश गरिएका छन्, जसमा एमसीसीले सिफारिस गरेको बाउन्ड्री क्याच सम्बन्धी नियम प्रमुख छ।
यी नियमहरू चरणबद्ध रूपमा लागू हुनेछन्। आईसीसीले लागू गरेका ६ नियम नयाँ विश्व टेस्ट च्याम्पियनशिप (२०२५-२७) को लागि टेस्ट क्रिकेटमा कार्यान्वयन भइसकेका छन्। सीमित ओभर (एकदिवसीय र टी-२०) ढाँचाहरूमा भने २ जुलाई २०२५ देखि लागू हुनेछन्।
एमसीसीले सिफारिस गरेको र आईसीसीले अनुमोदन गरेको बाउन्ड्री क्याच सम्बन्धी परिवर्तन भने जुन १७ देखि सुरू भएको श्रीलंका र बंगलादेश बीचको टेस्टबाट लागू भइसकेको छ। यी हुन् आईसीसीले परिवर्तन गरेका छ मुख्य नियमहरू:
१. टेस्ट क्रिकेटमा स्टप क्लक नियम (Stop Clock Rule):
खेललाई छिटो बनाउनका लागि टेस्ट क्रिकेटमा पनि स्टप क्लक नियम लागू गरिएको छ। यस नियमअनुसार, एक ओभर समाप्त भएपछि अर्को ओभर सुरु गर्न फिल्डिङ टोलीले ६० सेकेन्डभन्दा बढी समय लगाउन पाउनेछैन।
यो नियम तोडेमा पहिलो दुई पटक चेतावनी दिइनेछ। त्यसपछि पनि नियमको पालना नभएमा जरिवानास्वरूप ब्याटिङ गर्ने टोलीले पाँच रन पाउनेछ। यो नियम टी-२० र एकदिवसीय क्रिकेटमा पहिले नै लागू भइसकेको थियो।
२. छोटो रन (Short Run) मा कडा नियम:
आईसीसीले तीनै ढाँचाका लागि छोटो रनको नियममा पनि कडाइ गरेको छ। पहिले जानाजानी छोटो रन लिएको पाइएमा ५ रनको जरिवाना मात्र लगाइन्थ्यो। अब भने कुनै ब्याट्सम्यानले अतिरिक्त रन लिनका लागि जानाजानी रन पूरा नगरे अम्पायरले फिल्डिङ टोलीका कप्तानलाई पिचमा उपस्थित दुई ब्याट्सम्यानमध्ये कुनलाई अर्को बलमा स्ट्राइकमा राख्न चाहन्छौ भनेर सोध्नेछन्। यसका साथै पहिलाको पाँच रनको जरिवानालाई भने यथावत राखिएको छ।
३. थुक लगाइएमा बल परिवर्तन नहुने:
आईसीसीले बलमा थुक लगाउन प्रतिबन्ध लगाउने नियमलाई कायमै राखेको छ। यद्यपि, गल्तीले बलमा थुक लगाइएमा अम्पायर बल परिवर्तन गर्न बाध्य हुनेछैन। अम्पायरले बलको अवस्था हेरेर मात्र परिवर्तन गर्ने निर्णय गर्नेछन्।
यदि बल धेरै भिजेको वा अतिरिक्त चमक भएको जस्ता अवस्थामा ठूलो परिवर्तन आएको अम्पायरलाई लागेमा मात्र बल परिवर्तन गरिनेछ। यो निर्णय पूर्ण रूपमा अम्पायरको विवेकमा आधारित हुनेछ। यो नियम पनि तीनवटै ढाँचाका लागि हो।
४. क्याच रिभ्यू असफल भए LBW पनि जाँचिने:
रिभ्यू (DRS) सम्बन्धी नियममा पनि महत्वपूर्ण परिवर्तन गरिएको छ। यदि कुनै खेलाडीले क्याच आउटको लागि रिभ्यू लियो र त्यो रिभ्यू गलत साबित भयो।
तर, बल प्याडमा लागेको थियो भने, अब टिभी अम्पायरले स्वचालित रूपमा एलबीडब्ल्यू (LBW) को लागि पनि जाँच गर्नेछन्। यदि जाँच गर्दा ब्याट्सम्यान एलबीडब्ल्यू आउट हुने देखिएमा, उनलाई आउट घोषित गरिनेछ। यो नियम तीनै ढाँचामा लागू हुनेछ।
५. नो बलमा क्याच भए पनि जाँच:
सफ्ट सिग्नल (फिल्ड अम्पायरले तेस्रो अम्पायरलाई निर्णय रेफर गर्दा दिने प्रारम्भिक संकेत) लिइएको अवस्थामा यदि क्याच सही भएको देखियो तर त्यो नो बल रहेछ भने पनि अब क्याचको अवस्था जाँच गरिनेछ। पहिले नो बलको अवस्थामा क्याच जाँच गरिँदैनथ्यो।
नयाँ नियमअनुसार, यदि नो बलमा क्याच भएको पुष्टि भयो भने, ब्याटिङ गर्ने टोलीले नो बलको लागि १ रन पाउनेछ। यदि क्याच सही नभएको खण्डमा, नो बलको १ रनका साथै दौडिएर बनाइएको रन पनि प्रदान गरिनेछ। यो नियम पनि तीनवटै ढाँचाका लागि हो।
६. टी-२० खेलमा ओभर घट्दा पावरप्लेमा समायोजन:
वर्षा वा अन्य कारणले टी-२० खेलको ओभर घटाइएको खण्डमा पावरप्ले ओभरहरूको संख्यालाई पनि सोही अनुपातमा घटाइने गरी नयाँ नियम बनाइएको छ। यसले छोटो पारिएका खेलहरूलाई अझ निष्पक्ष बनाउने अपेक्षा गरिएको छ। नयाँ नियमअनुसार घटाइएका ओभरहरूको लागि पावरप्ले यस प्रकार हुनेछ:
* ६ ओभरको खेलमा १.५ ओभरको पावरप्ले।
* ७ ओभरको खेलमा २.१ ओभरको पावरप्ले।
* ८ ओभरको खेलमा २.२ ओभरको पावरप्ले।
* ९ ओभरको खेलमा २.४ ओभरको पावरप्ले।
* १० ओभरको खेलमा ३ ओभरको पावरप्ले।
* ११ ओभरको खेलमा ३.२ ओभरको पावरप्ले।
* १२ ओभरको खेलमा ३.४ ओभरको पावरप्ले।
* १३ ओभरको खेलमा ३.५ ओभरको पावरप्ले।
* १४ ओभरको खेलमा ४.१ ओभरको पावरप्ले।
* १५ ओभरको खेलमा ४.३ ओभरको पावरप्ले।
* १६ ओभरको खेलमा ४.५ ओभरको पावरप्ले।
पावरप्लेको समयमा केवल दुई जना फिल्डरहरू ३० यार्डको घेरा बाहिर रहन सक्नेछन्।
आईसीसीले अनुमोदन गरेका थप २ नियम
१. एकदिवसीय क्रिकेटमा ३५ ओभर पछि बल परिवर्तन:
एकदिवसीय क्रिकेटमा अब ३५औं ओभरपछि नयाँ बल प्रयोग गर्न अनुमति दिइएको छ। यसअघि दुवै छेउबाट नयाँ बल प्रयोग गरिन्थ्यो, जसलाई ३५ औं ओभरसम्म खेलाइन्थ्यो।
यो परिवर्तनले डेथ ओभरहरूमा तीव्र गतिका बलरहरूलाई पुरानो, नरम भइसकेको बलको सट्टा तुलनात्मक रूपमा कडा बलले बलिङ गर्न सहयोग पुग्नेछ र खेल सन्तुलित हुने अपेक्षा गरिएको छ।
२. बाउन्ड्रीमा क्याच सम्बन्धी नियम परिवर्तन:
मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बाउन्ड्रीमा गरिने क्याच सम्बन्धी नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेको छ, जसलाई आईसीसीले अनुमोदन गरिसकेको छ।
यो परिवर्तन बाउन्ड्री बाहिर उफ्रिएर वा सीमा नजिकबाट लिइने क्याचहरूसँग सम्बन्धित छ। एमसीसीले यसलाई अक्टोबर २०२६ देखि लागू गर्नेछ भने आईसीसीले यसलाई तत्काल प्रभावबाट (जुन १७, २०२४ देखि) लागू गरिसकेको छ।
यो नियमअनुसार बाउन्ड्रीमा क्याच लिँदा २ मुख्य अवस्थामा अब परिवर्तन आएको छ:
पहिलो : यदि कुनै फिल्डरले बाउन्ड्री भित्र हुँदा बललाई हावामा फाल्छ, त्यसपछि बाउन्ड्री रेखा बाहिर पाइला टेकेर हावामा उडेर फेरि बललाई हावामा फाल्छ र अनि बाउन्ड्री भित्र आएर सोही बललाई क्याच गर्छ भने, अब यसलाई आउट मानिने छैन। यो बाउन्ड्री मानिनेछ र ब्याटिङ टोलीलाई ४ वा ६ रन प्राप्त हुनेछ।
एकपटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा यस्तै घटना भएको थियो। उक्त अवस्थामा अम्पायरले त्यसलाई आउट दिएका थिए।
दोस्रो : यदि कुनै खेलाडी बाउन्ड्री बाहिरबाट हावामा उफ्रिएर बललाई भित्र फ्याँक्छ र अर्को खेलाडीले त्यसलाई क्याच गर्छ भने, यो क्याच तब मात्र मान्य हुनेछ जब बल फ्याँक्ने खेलाडीले बाउन्ड्री बाहिरको जमिनलाई बल समातेर वा बललाई अन्तिम पटक छोएर फेरि जमिन छुँदा सीमा बाहिरको जमिन नछोएको होस्।
सरल भाषामा भन्नुपर्दा, खेलाडीले बाउन्ड्री बाहिर रहेको बेला जमिनमा टेकेर बललाई सम्पर्क गर्न पाउनेछैन।
यी परिवर्तनहरूले क्रिकेटलाई आधुनिक युगको आवश्यकताअनुसार ढाल्दै दर्शक र खेलाडी दुवैका लागि थप आकर्षक र निष्पक्ष बनाउने विश्वास गरिएको छ।
असार १३, २०८२ शुक्रबार १०:१२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।