सञ्जालमा दुर्व्यवहार गर्नेहरुविरुद्ध सेलिब्रिटीहरुको सकारात्मक प्रतिकार, सार्वजनिक गर्न थाले प्रोफाइल र कमेन्ट

सञ्जालमा दुर्व्यवहार गर्नेहरुविरुद्ध सेलिब्रिटीहरुको सकारात्मक प्रतिकार, सार्वजनिक गर्न थाले प्रोफाइल र कमेन्ट

काठमाडौं : अति संवेदनशील विषयमा पीडित हुँदा गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालबाट समर्थन हैन उल्टो चरित्र हत्या, ट्रोल र खिसीटिउरीको सामना गर्नुपर्यो। जुन बेलामा उनी संवेदनशील न्यायिक लडाइमा थिइन् त्यो बेलामा अदालतले गरेको फैसलालाई लिएर उल्टो उनको चरित्र र नियत दुबैमाथि सामाजिक सञ्जालमा प्रश्न उठाइयो। मानसिक रूपमा स्थिर हुन सकस परिरहेको समयमा उल्टो विचलित बनाए केही सञ्जाल प्रयोगकर्ताहरूले।

उनले सबै सहिनन्। पुन आफ्नो गायक क्षेत्रमा सक्रिय भइन्। केही समयमै उनी पुरानै लयमा फर्किए पनि अझैँ केही प्रयोगकर्ताहरू उही पुरानै शैलीमा उनलाई ट्रोल गराउने वा घोचपेच गर्ने तहमा उत्रिन छाडेका छैनन्। अधिकांश समय मौन बस्ने गरेकी गायिका अधिकारीले अहिले भने आफू मानसिक रूपमा बलियो भइसकेको प्रमाणित गर्दा त्यस्ता ट्रोलर र सामाजिक सञ्जालमा आएर छ्यास्स खसालेर कमेन्ट गर्ने विरुद्ध प्रतिकार गर्न सुरु गरिन्। 

जसले कमेन्ट गरेको हो उसको सामाजिक सञ्जालको प्रोफाइलमा गएर उनीहरूको सक्कली पहिचान सार्वजनिक गर्न थालिन्। केही हप्ता अगाडिको घटना हो, उनलाई यस्तै एक सामाजिक सञ्जालका प्रयोगकर्ताले १० लाख भनेर कमेन्ट गरेका थिए। उनले ती सञ्जाल प्रयोगकर्ताको प्रोफाइलमा गएर उनको दुई छोरी रहेको पत्ता लगाइन्। अनि भोली आफ्नो छोरीहरूलाई पर्दा पनि यस्तै कमेन्ट गर्ने हो भनेर जायज प्रश्न गरिन्। जब ती सञ्जाल प्रयोगकर्ताको असलियत खुल्यो उनले माफी मागे।

समीक्षाले अहिले पनि निरन्तर अश्लील र व्यक्तिगत चरित्रहत्या गर्नेहरूको प्रतिक्रियासँगै उनीहरुको प्रोफाइलको लिंक र तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन्। उनको त्यस्ता पोस्टहरुमा सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् भने त्यस्तो कमेन्टहरुको आलोचना भइरहेको छ।

अहिले अर्की गायिका एलिना चौहानले पनि आफ्नो व्यक्तिगत जीवनबारे जे पायो त्यही टिप्पणी गर्ने सञ्जाल प्रयोगकर्ताहरूलाई त्यसरी नै सार्वजनिक गर्न थालिन्। उनले पनि समीक्षाकै शैलीमा बुधवार आफूलाई गाली गर्दै प्रतिक्रिया लेखेका सञ्जाल प्रयोगकर्ताको प्रोफाइल लिङ्कसहित उनलाई सार्वजनिक गरिन्।

उनले सँगै आफ्नाबारे गाली गर्दै कमेन्ट गर्नेहरूबारे एकाएक पोस्ट गर्दै जाने लेखेको केही समयमै अर्को सञ्जाल प्रयोगकर्ताको परिचय सार्वजनिक गरिन्। उनले निरन्तर एक दर्शन बढी यस्ता प्रतिक्रिया लेख्नेको प्रोफाइल लिंक सार्वजनिक गरिसकेकी छिन्। केही सकारात्मक प्रतिक्रिया दिनेहरूबारे पनि उनले राखेकी छिन्।

केही महिनादेखि नै अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा तस्बिर अनि भिडियोमा आएर आपत्तिजनक र व्यक्तिगत चरित्रहत्याको तहमा उत्रिने सञ्जाल प्रयोगकर्ताहरूको परिचय सार्वजनिक गर्दै आएकी छिन्। यसमा टिकटकर प्रिज्मा खतिवडा पनि थपिएकी थिइन्। अहिले आएर दुई गायिकाले हिम्मत गर्दै सामाजिक सञ्जाल मार्फत आफूहरूमाथि दुर्व्यवहार गर्नेहरूको सक्कली परिचय सार्वजनिक गर्न थालेका छन् र यसको प्रभाव समेत देखिन थालेको छ।

समीक्षाबारे प्रतिक्रिया लेख्नेले तत्काल माफी मागेका थिए भने एक सञ्जाल प्रयोगकर्ताले एलिनालाई अडियो संवाद पठाएर माफी मागेका छन्। यस्तो अभियानले सामाजिक सञ्जालमा हुने डिजिटल दुर्व्यवहार कम गराउन सक्छ नै। अर्कोतर्फ नियोजित रूपमा नियमित डिजिटल दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कार्वाहीमा जाने हो भने लेख्दा के नै हुन्छ र भनेर अर्कालाई नियोजित रूपमा ट्रोल गर्ने, अश्लील टिप्पणी गर्ने अनि दुर्व्यवहार गर्नेहरूले सबक सिक्थे कि।

असार १२, २०८२ बिहीबार २२:३५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।