दुई महिना जोमसोममा प्लेन नजाने, यात्रु घटेको भन्दै निजीले उडान रोके

दुई महिना जोमसोममा प्लेन नजाने, यात्रु घटेको भन्दै निजीले उडान रोके

मुस्ताङ : मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घटेको भन्दै निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोमको हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन्।

तारा एयरलाइन्सको ट्वीनेटर जहाजले असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिए। उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि मात्र पुनः उडान सञ्चालन गर्नेछ।

समिट एयरलाइन्सले पनि उक्त रुटमा असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ। जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा-जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ। कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा-जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केही दिनमा स्थगित गर्ने जनाएको बताए।

असार १२, २०८२ बिहीबार २१:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।