पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि स्थगित

मुस्ताङ :बर्खायामसँगै पोखरा-जोमसोम हवाई यात्रुको संख्या घटेपछि निजी वायुसेवा कम्पनीहरूले दुई महिनाका लागि उडान स्थगित गरेका छन्।
तारा एअरलाइन्सले असार २ गतेदेखि जोमसोम उडान बन्द गरिसकेको छ। कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनका अनुसार मौसम प्रतिकूल हुनु र यात्रु कम आउनुका कारण आगामी सेप्टेम्बरसम्म उडान स्थगन गरिएको हो। ‘नयाँ याम सुरु भएपछि उडान फेरि नियमित हुन्छ,’ उनले भने।
यस्तै, समिट एअरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि पोखरा–जोमसोम उडान बन्द गर्ने निर्णय गरेको छ। समिटका जोमसोम स्टेशन इञ्चार्ज सुमन थकालीका अनुसार अहिले दैनिक मुस्किलले एउटा मात्रै उडान भइरहेको छ भने यात्रुको चाप झनै घट्दो छ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पनि मनसुन सुरु भएसँगै हवाई यात्रु घटेको बताए। उनले तारा एअरले उडान रोकेको र समिटले पनि छिट्टै रोक्ने जानकारी गराए।
यात्रु घट्नुको असर सडक यातायातमा पनि देखिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार सडकमार्गबाट आउने यात्रुको संख्यामा समेत उल्लेखनीय गिरावट आएको छ।
असार १२, २०८२ बिहीबार २०:५८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।