शोभित बस्नेतको निर्देशनमा बनेको ‘पीआर’ को टिजर सार्वजनिक

शोभित बस्नेतको निर्देशनमा बनेको ‘पीआर’ को टिजर सार्वजनिक

काठमाडौं : सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहमार्फत फिल्मको टिजर रिलिज गरिएको हो।

टिजरमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष, त्यहाँको जीवनशैली, र नेपालमा रहेका उनीहरूको परिवारको भावना र पीडालाई समसामयिक ढंगले प्रस्तुत गरिएको छ। फिल्मले विदेशमा बस्ने नेपालीहरूको भोगाइलाई केन्द्रमा राखेर कथा बुनिएको छ।

‘पीआर’ मा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय रहेको छ।

विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी पनि फिल्ममा देखिने छन्।

फिल्मका प्रस्तुतकर्ता रञ्जित शाह र सन्तोष तिवारी रहेका छन् भने निर्देशन र कथा शोभित बस्नेतले गरेका हुन्।

फिल्ममा प्रदीप दाहाल र लक्ष्मण सापकोटा निर्माताका रूपमा रहेका छन्। मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, गणेश बुढाथोकीको पटकथा तथा संवाद, सौरभ सायमी र सौरभ लामाको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ।

रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ सहायक निर्देशकका रूपमा फिल्ममा आबद्ध छन्। फिल्मको निर्माण व्यवस्थापन केवल मान सिंह बस्नेतले गरेका छन्।

निर्देशक बस्नेतका अनुसार फिल्मको करिब ६० प्रतिशत छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र बाँकी ४० प्रतिशत नेपालमा गरिएको हो।

निर्माण पक्षका अनुसार, फिल्म यो महिनाको अन्तिमदेखि अस्ट्रेलिया र न्युजिल्यान्डका सबै सहरहरूमा प्रदर्शनमा आउनेछ।

त्यसपछि दशैंको आसपासमा फिल्मलाई विश्वव्यापी रूपमा रिलिज गरिने तयारी छ। फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ।

असार १२, २०८२ बिहीबार २०:३७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।