भारतमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार, आमाको मृत्यु हुँदा पनि पाएका थिएनन् घर फर्किन

काठमाडौं : भारतमा जबर्जस्ती बन्धक बनाइएका ५७ जना नेपाली युवाको उद्धार गरिएको छ। उनीहरूलाई उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा जबर्जस्ती राखिएको अवस्थामा ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको पहलमा उद्धार गरिएको हो।
संस्थाका निर्देशक नविन जोशीका अनुसार यो घटनाबारे एक महिनाअघि नै जानकारी आएको थियो, तर ताप्लेजुङका एक युवाको मृत्यु भएपछि घटनालाई थप संवेदनशील ढंगले लिएर उद्धार प्रक्रिया अघि बढाइएको हो।
‘ताप्लेजुङका एक भाइ मृत भेटिएपछि हामी उत्तराखण्ड प्रहरीसँगको सहकार्यमा ती नेपाली फसेका स्थानमा पुग्यौं। त्यहाँ पुग्दा उनीहरूलाई लाइनमा उभ्याएर अरू नेपाली बोलाउने कार्यमा लगाइएको थियो।’
जोशीका अनुसार बन्धक बनाइएका युवाहरूलाई अत्यन्तै फोहोर र साँघुरा कोठामा कोचेर राखिएको थियो। तीन वटा कोठामा ३० जनासम्मलाई राखिएको थियो, न त राम्रो सुत्ने ब्यवस्था थियो, न खाने व्यवस्था। सुरुमा डरले उनीहरू बोल्न पनि नसक्ने अवस्थामा थिए। तर जब बन्धक बनाउने गिरोहका मुख्य व्यक्ति विरेन्द्र शाही पक्राउ परेका खबर आएपछि उनीहरू खुल्न थालेका थिए।
बन्धक बनाइएका केहीको अवस्था निकै पीडादायक थियो। एक युवाको आमाको मृत्यु हुँदा पनि उनलाई घर जान दिइएको थिएन। जोशीका अनुसार विरेन्द्र शाही, मनिष तिवारीलगायतका व्यक्तिहरू सक्रिय भएर युवालाई रोजगारीको नाममा भारत पुर्याइ बन्धक बनाउने कार्यमा संलग्न थिए।
रुद्रपुर र कासिपुर क्षेत्रमा उनीहरूलाई घर-घरमा लुकाएर राखिएको थियो। कतिपयलाई स्थानान्तरण गर्दै भगाइरहेको अवस्थामै उद्धार गरिएको जोशीले बताए। उद्धार अभियानमा ‘किन इन्डिया’ संस्थाका साथै भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीले सहयोग गरेका थिए।
बुधबार उनीहरूलाई बसमार्फत भारत-नेपाल सीमा गड्डाचौकी ल्याइएको थियो। त्यहाँ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले उनीहरूलाई स्वागत गरे।
उद्धार गरिएका सबै नेपालीका लागि कञ्चनपुरमै वासस्थानको व्यवस्था गरिएको छ। बिहीबारदेखि उनीहरूलाई आ-आफ्नो गन्तव्यतर्फ पठाउन थालिएको छ। उद्धार गरिएकामध्ये ११ जना सुदूरपश्चिमको कैलाली र डोटीबाट हुन् भने अन्यहरू चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, दाङ, बाँके, स्याङ्जा, धादिङ, कास्की, सर्लाही, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका रहेका छन्।
‘किन इन्डिया’ संस्थाले यसअघि पनि भारतमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्दै आएको छ।
असार १२, २०८२ बिहीबार १९:४४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।