विगतका शासकको दिमागमै नआएको काम एमालेले गरेको पोखरेलको दाबी

विगतका शासकको दिमागमै नआएको काम एमालेले गरेको पोखरेलको दाबी

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले एमालेले विगतका शासकले सोच्नै नसकेका विकासका काम गरेर देखाएको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एमाले जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले ‘देश बनाउन सक्छ एमालेले’ भन्ने सन्देश व्यवहारमै पुष्टि गरिसकेको दाबी गरे। ‘एमाले कुरा मात्र होइन, काम गरेर देखाउँछ,’ पोखरेलले भने, ‘विगतका शासकको दिमागमा चढ्दै नचढ्ने काम हामीले गर्न सफल भएका छौँ।’

पोखरेलले युवालाई विदेश पलायन हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती भएको बताए। उनले नेपाली युवा बाध्यताले मात्र नभएर रहरले पनि विदेश जान थालेको बताए। उनले यसलाई ‘लाहुरे संस्कृतिको निरन्तरता’ भने। ‘पहिले भारत जाने चलन थियो, अब तेस्रो मुलुकतिर गएका छन्,’ उनले भने।

युवालाई विदेश जानबाट रोक्न उनीहरूलाई राजनीति, समाज र राज्यसँग जोड्नुपर्ने पोखरेलको सुझाव थियो। ‘अहिलेको बजेट र कार्यक्रमले नयाँ पुस्तालाई राष्ट्र निर्माणको मुख्य आधार बनाउन खोजेको छ,’ उनले दाबी गरे।

सरकारले रोजगारी र स्वरोजगारी सिर्जनामा प्राथमिकता दिएको उनले बताए। स्टार्टअप योजनाहरू ल्याएर युवालाई स्वदेशमै अवसर दिन खोजिएको पोखरेलको भनाइ थियो।

‘बजेटमा केही आलोचना भए पनि समग्रमा यो सन्तुलित र प्रभावकारी छ,’ उनले भने, ‘सही रूपमा कार्यान्वयन भयो भने धेरै समस्या समाधान हुन सक्छ।’

पार्टी नेतृत्वको विषयमा हाल बहस गर्नु समयको बर्बादी भएको भन्दै उनले अधिवेशनकै सन्दर्भमा नेतृत्वबारे छलफल गर्ने समय उचित हुने बताए।

‘पार्टीभित्र सैद्धान्तिक वा वैचारिक मतभेद छैन,’ पोखरेलले भने, ‘अहिले सबैले एउटै लक्ष्य पार्टीलाई थप बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ।’

असार १२, २०८२ बिहीबार १८:५४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।