प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध बोलेपछि पक्राउ परेकी टिकटकर ३० हजार धरौटीमा छुटिन

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध बोलेपछि पक्राउ परेकी टिकटकर ३० हजार धरौटीमा छुटिन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गाली गर्दै टिकटक भिडियो बनाएको आरोपमा पक्राउ परेकी रमा बस्नेत ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा पक्राउ परेकी बस्नेतलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई असार १ गते पक्राउ गरेको थियो।

बस्नेतविरुद्ध मन्त्रालयले अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरी सक्रिय भएको थियो। उनलाई विद्युतीय कारोबारसम्बन्धी ऐन अनुसार कसूर ठहर गर्दै अनुसन्धान थालिएको हो।

यसअघि रमाका बाबु बलदेव बस्नेतले छोरीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। तर, न्यायाधीश कुमार रेग्मीको इजलासले उनलाई तत्काल छोड्न नपर्ने भनी ‘कारण देखाऊ’ आदेश मात्र जारी गरेको थियो।

असार १२, २०८२ बिहीबार १८:४१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।