शुक्रबारदेखि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ हुँदै, किसानबाट सिधै आँप किन्न पाइने

शुक्रबारदेखि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ हुँदै, किसानबाट सिधै आँप किन्न पाइने

काठमाडौं : नेपालमै उत्पादन भएका आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल म्याङ्गो फेस्ट’ नामको विशेष महोत्सव भोलिदेखि सुरु हुँदैछ।

असार १३ देखि १५ गतेसम्म चल्ने यो तीनदिने महोत्सवमा तराई-मधेसमा उत्पादित नेपाली आँपहरूको विविधता, स्वाद र सांस्कृतिक महत्वलाई उजागर गरिनेछ।

काठमाडौं अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिङ्सको सहकार्यमा आयोजना हुने महोत्सवको उद्घाटन कार्यक्रम लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा हुनेछ। कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको उपस्थिति रहने आयोजकहरूले जनाएका छन्।

काठमाडौं अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजका अनुसार महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको ब्रान्ड निर्माण, किसानहरूको मूल्य शृङ्खला मजबुत बनाउने र उपभोक्तालाई विषादीरहित, प्राकृतिक उत्पादनमा पहुँच दिलाउने हो।

कार्यक्रममा १० भन्दा बढी प्रजातिका नेपाली आँप प्रदर्शनीमा राखिने छन् भने ५ भन्दा बढी जातका आँपहरू किसानबाट प्रत्यक्ष किन्न सकिनेछ। विशेष गरी माल्दा, दशहरी, जरदा, किसानबोग, र कलकत्तिया जातका आँपहरू प्रत्यक्ष किसानसँगको किनमेलमार्फत उपलब्ध हुनेछन्।

त्यस्तै, २० भन्दा बढी प्रकारका आँप मिसाइएका परिकार र पेय पदार्थहरू पनि सहकार्यमा रहेका रेस्टुरेन्टहरूमा उपलब्ध हुनेछन्। साथै, म्याङ्गो गेम, रमाइला गतिविधिहरू लगायत सबै उमेर समूहका लागि आकर्षक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्।

महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एच टू ओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुनेछ। ती रेस्टुरेन्टहरूले महोत्सवलाई झनै आकर्षक बनाउन विशेष तयारी गरिरहेका छन्।

असार १२, २०८२ बिहीबार १७:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।