तुइनभिरका ढुङ्गा हटाइएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन : इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा जोखिमपूर्ण रूपमा अड्किएका ढुङ्गा हटाइएपछि नारायणगढ-मुग्लिन सडक पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार इच्छाकामना-६ को तुइनभिर क्षेत्रमा अड्किएका ढुङ्गा झार्ने काम आज बिहान ११ बजेदेखि सुरू गरिएको थियो।
सुरूमा दिउँसो १ बजेसम्मका लागि सडक बन्द गरिएको भए पनि काम नसकिएपछि समय थप गर्दै ३ बजेसम्म सडक अवरुद्ध गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले सडक माथिबाट खस्ने जोखिममा रहेका ढुङ्गाहरू सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेपछि त्यहाँको सम्भावित जोखिम कम भएको जानकारी दिए।
उनका अनुसार ढुङ्गा हटाइएपछि वर्षायाममा हुने संभावित दुर्घटनाको जोखिम केही हदसम्म घटेको छ।
सडक पुनः सञ्चालनमा आएसँगै सवारीसाधनहरू सहज रूपमा गुड्न थालेका छन्। डीएसपी खनालले सडक बन्द अवधिभर सवारी चालकहरूलाई ट्राफिक अनुशासनमा रही सहयोग गरिदिन आग्रह गरिएको जानकारी पनि दिए।
असार १२, २०८२ बिहीबार १६:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।