महामन्त्री विवादबारे मुकुल र रास्वपाबीच इजलासमै छलफल हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. मुकुल ढकालले महामन्त्रीको हैसियतमा काम गर्न पाउने माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले बिहीबार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै असार १७ गतेका लागि पक्ष–विपक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको हो।
ढकालले आफूलाई रास्वपाको महामन्त्री कायम राखी सोही पदअनुसार काम गर्न पाउने व्यवस्था मिलाइयोस् भन्ने मागसहित रिट दायर गरेका थिए। उनले पार्टीको केन्द्रीय कार्यालय, वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई प्रतिवादी बनाएका थिए। उनले उत्प्रेषण आदेश माग गरेका थिए।
यसअघि रास्वपाले अनुशासनविपरीत अभिव्यक्ति दिएको, अभद्र व्यवहार गरेको र पार्टी छविमा धक्का पुर्याएको आरोप लगाउँदै ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।
ढकालले सो कारवाहीलाई अवैधानिक दाबी गर्दै निर्वाचन आयोगमा पनि निवेदन दिएका छन्। आयोगलाई पठाइएको निवेदनमार्फत उनले आफूविरुद्ध गरिएको कारबाहीसम्बन्धी कुनै पत्र अद्यावधिक नगर्न आग्रह गरेका छन्।
असार १२, २०८२ बिहीबार १५:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।