क्यान्सरका बिरामीका लागि २४ घण्टे ‘हटलाइन’ सेवा सुरू

क्यान्सरका बिरामीका लागि २४ घण्टे ‘हटलाइन’ सेवा सुरू

चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरका बिरामीहरूलाई लक्षित गर्दै २४ घण्टा ‘हटलाइन’ फोन सेवा सञ्चालनमा ल्याएको छ।

मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार घर फर्किएका, उपचारको क्रममा रहेका वा पुनः क्यान्सर देखा परेका बिरामीलाई आकस्मिक अवस्थामा सघाउने उद्देश्यले ९८५५०८१५०१ नम्बरमा हटलाइन सेवा सुरु गरिएको हो।

‘यो सेवा बिरामी तथा बिरामीका आफन्तका लागि मात्र हो,’ डा. साहले भने, ‘अस्पतालसम्बन्धी गुनासो वा अन्य जानकारीका लागि भने यो नम्बर प्रयोग गर्न मिल्दैन। बिरामीले केमोथेरापी वा रेडियोथेरापी लिएर घर गएका बेला समस्या आएमा हामीमार्फत सल्लाह र सहजीकरण हुनेछ।’

उनका अनुसार दूरदराजमा रहेका बिरामीका लागि विशेष गरी उपयोगी हुनेगरी यो सेवा सञ्चालन गरिएको हो। पहिचानको प्रारम्भिक चरणमै रहेका बिरामी वा नन-क्यान्सर अस्पतालमा पुग्ने बिरामीका लागि त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीलाई मोबाइलबाट नै उपचार प्रक्रिया र रिफरसम्बन्धी मार्गदर्शन गरिनेछ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले एक्युट अङ्कोलोजी तालिम प्राप्त चिकित्सक र नर्सहरूको टोलीले २४ घण्टा हटलाइनमा सेवा उपलब्ध गराउने जानकारी दिए। ‘बिरामीका रिपोर्ट र लक्षणको आधारमा तत्काल तथा दीर्घकालीन उपचारबारे सल्लाह दिनेछौं,’ उनले भने।

यो सेवा देशभरका क्यान्सर बिरामीका लागि उपचार सहजीकरणको महत्वपूर्ण माध्यम हुने अपेक्षा गरिएको छ।

असार १२, २०८२ बिहीबार १४:३०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।