रास्वपा महामन्त्रीमा दाबी गर्दै सर्वोच्चमा मुकुलको रिट : सुनुवाइ सकियो, आदेश आउँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा दावी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सकिएको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको यस रिटमा केहीबेरमै आदेश आउनेछ।
ढकालले आफूलाई रास्वपाको महामन्त्री कायम गरी सोही हैसियतमा काम गर्न पाऊँ भन्ने मागसहित आजै सर्वोच्चमा रिट दायर गरेका हुन्।
रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीका प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई प्रतिवादी बनाइएको छ। यस रिटमार्फत उत्प्रेषणको आदेश माग गरिएको छ।
पार्टीले आफूमाथि गरेको कारवाहीको निर्णयविरुद्ध ढकालले निर्वाचन आयोगमा समेत निवेदन दिएका छन्। उनले आफ्नो कारवाहीसम्बन्धी पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई आग्रह गरेका छन्।
रास्वपाले पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गरेको तथा पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै ढकाललाई करिब एक वर्षअघि महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।
पार्टीले आफूलाई गरेको उक्त कारवाही अवैधानिक भएको ढकालको दावी छ।
असार १२, २०८२ बिहीबार १४:०६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।