क्रिकेटर सूर्यकुमार यादवले गराए हर्नियाको शल्यक्रिया

क्रिकेटर सूर्यकुमार यादवले गराए हर्नियाको शल्यक्रिया

एजेन्सी : भारतको टी-२० टोलीका कप्तान सूर्यकुमार यादवको हर्नियाको शल्यक्रिया गरिएको छ।

जर्मनीको म्युनिखमा पेटको दाहिने भागमा भएको स्पोर्ट्स हर्नियाको सफल शल्यक्रिया गरिएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘पेटको तल्लो दाहिने भागमा भएको स्पोर्ट्स हर्नियाको शल्यक्रिया गराएको छु। सफल शल्यक्रियापछि, म अब निको हुने बाटोमा छु भन्ने जानकारी दिन पाउँदा खुसी छु।’

भारतीय टी-२० टोलीले आगामी अगस्टमा बंगलादेशको भ्रमण गर्नेछ। अगस्ट १७ देखि त्यहाँ ३ एकदिवसीय र ३ टी-२० खेलको शृङ्खला खेल्नेछ। अगस्ट २६ देखि टी-२० शृङ्खला सुरु हुनेछ।

हाल भारतीय टोली इङ्गल्याण्ड भ्रमणमा गएको छ। त्यहाँ पाँच खेलको टेस्ट खेल्न गएको टोली पहिलो खेलमा इङ्गल्याण्डसँग पाँच विकेटले पराजित हुँदै १-० को अवस्थामा छ।

टी-२० तर्फ सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिगको २०२५ सिजनमा मुम्बईका लागि ७०० भन्दा बढी रन बनाएका थिए। त्यसपछि उनले मुम्बई प्रिमियर लिग टी-२० प्रतियोगितामा भाग लिएका थिए।

मार्च २०२१ मा भारतको लागि टी-२० अन्तर्राष्ट्रिय डेब्यू गरेका यालवको एकदिवसीय डेब्यू पनि २०२१ मा भएको थियो।

उनको टेस्ट डेब्यू फेब्रुअरी २०२३ मा अस्ट्रेलिया विरुद्ध भएको थियो, यद्यपि यो उनको एक मात्र टेस्ट खेल हो। उनले अहिलेसम्म ८३ टी-२० खेलमा २५९८ रन बनाएका छन्। साथै, उनले ३७ एकदिवसीय खेलमा ७७३ रन बनाएका छन्।

असार १२, २०८२ बिहीबार १३:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।