उपनिर्वाचनको मिति घोषणा नहुँदै नाम दर्ता गराउन आयोगको आग्रह, घोषणापछि दर्ता रोकिने

उपनिर्वाचनको मिति घोषणा नहुँदै नाम दर्ता गराउन आयोगको आग्रह, घोषणापछि दर्ता रोकिने

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेद्वारा जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो।

२०७९ सालमा सम्पन्न विभिन्न तहका निर्वाचनपछि विभिन्न कारणले केही पदहरू रिक्त भएर ती पदहरूमा निकट भविष्यमा उपनिर्वाचन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा ‘निर्वाचनको घोषणा भैसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था रहेको छ।

सोही व्यवस्था बमोजिम निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले आयोगले मिति घोषणा हुनुअगावै नाम दर्ता गराउन अनुरोध गरेको हो।

आयोग रुपन्देही-३ सँगै गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ को २ मा रिक्त स्थानका लागि पनि उपनिर्वाचन गराउने तयारीमा छ। प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका पदाधिकारीबीच यस विषयमा छलफल भइसकेको छ।

असार १२, २०८२ बिहीबार १२:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।