रुपन्देही-३ उपनिर्वाचन: एमालेबाट खिमलालको सम्भावना बलियो, कांग्रेसमा बालकृष्णको टिकटमा भुटानी प्रकरणको छायाँ

रुपन्देही-३ उपनिर्वाचन: एमालेबाट खिमलालको सम्भावना बलियो, कांग्रेसमा बालकृष्णको टिकटमा भुटानी प्रकरणको छायाँ

बुटवल : निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गराउने तयारी थालेको छ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण २०७९ सालमा बोहरासँग पराजित भएका थिए।

आयोगले रुपन्देही-३ सँगै गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ को २ मा रिक्त स्थानका लागि पनि उपनिर्वाचन गराउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका पदाधिकारीबीच यस विषयमा छलफल भइसकेको छ।

सरकारको परामर्शमा आयोगले आगामी असार २० गतेभित्र उपनिर्वाचनको मिति तोक्ने तयारी गरेको छ। मिति नजिकिँदै गर्दा रुपन्देही-३ मा टिकटका लागि नेताहरूको लबिइङ तीव्र बनेको छ। यस उपनिर्वाचनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका प्रमुख दलहरूले उम्मेदवार उठाउने तयारी गरिरहेका छन्।

एमालेबाट खिमलाल भट्टराईको सम्भावना बलियो, अरु पनि आकांक्षी
२०७९ को निर्वाचनमा राप्रपाका दिपक बोहोरालाई साझा उम्मेदवार बनाएको एमाले यसपटक सो क्षेत्रमा एक्लै निर्वाचनमा जाने तयारी गरिरहेको छ। हाल नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि एमालेले निर्वाचनमा एक्लै अगाडि बढ्ने योजना बनाएको छ।

आगामी उपनिर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै छ। एमालेका पोलिटब्युरो सदस्य भट्टराईले उम्मेदवारीका लागि पार्टीको शीर्ष नेतृत्वसँग छलफल गरिरहेका छन्।

सोही क्रममा अध्यक्ष केपी शर्मा ओलीसँग नेता भट्टराईले भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीले सो क्षेत्रमा एमालेले एक्लैले जित्ने गरी चुनावमा खटिन आग्रह गरेको भट्टराईले बताए।

राष्ट्रिय सभाका पूर्व सदस्य रहेका भट्टराई २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र-५ बाट उम्मेदवार बन्न चाहन्थे। उनले उम्मेदवारी दर्ता पनि गराएका थिए।

तर, एमालेबाटै तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरेले पनि रुपन्देही-५ मा उम्मेदवारी दर्ता गरेको र निर्वाचन आयोगले उनैको उम्मेदवारी कायम गरेपछि भट्टराई पछि हटेका थिए। यस पृष्ठभूमिमा अहिले रुपन्देही-३ मा उनको सम्भावना बलियो देखिएको हो।

यद्यपि एमालेबाट अन्य नेताहरूको नाम पनि चर्चामा छ। भट्टराई बाहेक नेता दधिराम न्यौपाने, शशी पौडेल, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल तथा सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीले पनि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्।

उता एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले अहिलेसम्म उम्मेदवार कसैको पनि नटुंगिएको भन्दै पार्टीले योग्य उम्मेदवारलाई निर्वाचनमा पठाउने बताए।

उनले भने, ‘आकांक्षा हुनु स्वभाविक हो। तर कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल नै भएको छैन।’

बालकृष्ण खाँणको टिकटमा भुटानी शरणार्थी प्रकरणको छायाँ
नेपाली कांग्रेसबाट रुपन्देही-३ मा तत्कालीन गृहमन्त्री तथा पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण प्रमुख दाबेदार हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने खाँण यस क्षेत्रमा कांग्रेसको साख फर्काउन चाहन्छन्। किनकी यो निर्वाचन क्षेत्रबाट २०७४ मा एमालेका घनश्याम भुसाल र २०७९ मा राप्रपाका दिपक बोहोरा विजयी भएका थिए।

तर नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि उनलाई पार्टीले उम्मेदवार बनाउँछ वा बनाउँदैन भन्ने निश्चित छैन। यो प्रकरणपछि उनी देउवाभन्दा शेखर समूहसँग बढी निकट देखिएका छन्। पूर्व गृहमन्त्री समेत रहेका खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि २०८० साल वैशाख २७ गते पक्राउ परेका थिए।

खाँणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग गरेको ‘रकम लेनदेनको संवाद’ फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। सात महिना लामो कारागार बसाइपछि २०८० मंसिर २८ मा उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि खाँण पछिल्लो समय राजनीतिमा फर्कने प्रयास गरिरहेका छन्।

यद्यपी उनलाई कम चुनौती भने छैन। भुटानी शरणार्थी प्रकरणपछि जनतामाझ गुमेको विश्वासले उनलाई भार पर्न सक्छ। जिल्लाका एक प्रभावशाली कांग्रेस नेताले भने, ‘पहिले पनि धेरै पटक लाभको पद लिइसकेका व्यक्ति हुन्। राजनीतिमा परिवारवाद गरे भन्ने पुरानै आरोप छ। त्यसमाथि अहिले यो जघन्य भुटानी शरणार्थी प्रकरण टुंगोमा पुगेको छैन। त्यसैले गर्दा उम्मेदवारीको विषयमा केही भन्न सकिने अवस्था छैन।’

खाँणकी श्रीमती मञ्जु खाँण नेपाली कांग्रेसबाट समानुपातिक सांसद छिन्। सहोदर भाइ रामकृष्ण खाँण रुपन्देही जिल्ला सभापति र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख हुन्।

खाँणसँगै कांग्रेसका प्रमोद यादव, भरत शाह र रामचन्द्र ढकाल पनि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। यादव २०७९ को निर्वाचनमा रुपन्देही-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग, शाह रुपन्देही-५ मा एमालेका वासुदेव घिमिरेसँग र ढकाल प्रदेश सभा अन्तर्गत रुपन्देही ३ को १ मा एमालेका तुलसीप्रसाद चौधरीसँग पराजित भएका थिए।

राप्रपामा बोहोरा परिवारको चर्चा
यता राप्रपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने अझै टुंगो लागेको छैन। राप्रपाबाट यस पटक स्व. दीपक बोहोराका छोरा प्रज्वल बोहोरा वा नातिनी स्वाती थापा उम्मेदवार हुनसक्ने आँकलन गरिएको छ। राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले अहिले निर्वाचनमा उम्मेदवार कसलाई बनाउने विषयमा अझै निचोडमा नपुगेको बताए।

निर्वाचन क्षेत्रको स्वरुप र विगतको नतिजा
२०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ३ अस्तित्वमा आएको थियो। रुपन्देही-३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा २, मायादेवी गाउँपालिकाको ७ र ८, तिलोत्तमा नगरपालिकाको १३ र १४, र बुटवल उपमहानगरपालिकाको १४ देखि १९ वडा समेटिएको छ।

यस क्षेत्रको चुनावी इतिहास पनि रोचक छ। २०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए। उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जिते। २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण नेपाली कांग्रेसबाट निर्वाचित भए।

२०७० सालमा दीपक बोहोरा राप्रपाबाट विजयी भए। २०७४ मा घनश्याम भुसाल एमालेबाट जित्दा बोहरा दोस्रो भए। २०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथमा यो क्षेत्रमा विजयी भए भने बालकृष्ण खाँण दोस्रो भए।

२०७४ सालमा नेपाली कांग्रेसले राप्रपाका नेता दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो। तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जित्दा बोहराले २७ हजार ४२२ मत ल्याएका थिए। उक्त समयमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए।

०७९ मा समानुपातिक मत कसको कति?
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको छ। एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ मत पाएको छ। राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो।  लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए।

असार १२, २०८२ बिहीबार १२:१२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।