ज्ञानेन्द्रको क्यारिकेचर गर्दा प्रभात लामालाई धम्की, भने- ‘राजा नल्याउँदै यस्तो छ, ल्याए झन् के गर्नुहोला?’

ज्ञानेन्द्रको क्यारिकेचर गर्दा प्रभात लामालाई धम्की, भने- ‘राजा नल्याउँदै यस्तो छ, ल्याए झन् के गर्नुहोला?’

काठमाडौं : हाँस्य कलाकार प्रभात लामाले पूर्व राजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपछि धम्की आएको बताएका छन्। ‘कमेडी नाइट विथ च्याम्पियन’ कार्यक्रमको पछिल्लो भागमा उनले राजाको क्यारिकेचर गरेका थिए।

उक्त कार्यक्रममा अतिथिका रूपमा राजसंस्था समर्थकहरू सांसद ज्ञानेन्द्र शाही, अधिवक्ता स्वागत नेपाल र नेतृ खुश्बु ओली  पुगेका थिए।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन्। उनले क्यारिकेचर गर्दाको तस्बिर पनि पोस्टमा सामेल गरेका छन्। लामाले केही व्यक्तिहरूबाट यस विषयमा फोन तथा म्यासेज मार्फत असन्तुष्टि र धम्कीपूर्ण भाषा आएको उल्लेख गरेका छन्।

उनले आफू गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिक भएको नाताले राष्ट्रपति र प्रधानमन्त्रीको समेत गलत कार्यमाथि व्यंग्य र प्रश्न उठाउने अधिकार राख्ने भएकाले ‘पूर्व राजाको क्यारिकेचर गर्दा के गलत भयो?’ भन्दै प्रश्न गरेका छन्।

उनले सोधेका छन्, ‘तपाईंको राजा नआउँदै यस्तो रवाफ देखाउनु हुन्छ भने साच्चै राजा आएको दिन के गर्नुहुन्छ?’

उनले जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टि देखाउनेहरूप्रति पनि कडा जवाफ दिँदै क्षमता भए कलाकारितामा आउन चुनौती दिएका छन्। उनले कलाकारितामा जातभातको कुरा नजोड्न समेत आग्रह गरेका छन्।

हास्यव्यंग्य कलाकारले पात्रको क्यारिकेचर गर्दा मान मर्दन नहुने भन्दै उनले त्यस मार्फत ठट्यौली शैलीमा धेरै कुरा र विचार व्यक्त सकिने विषय समेत स्पष्ट पारेका छन्।

उनले कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगर्न आग्रह गर्दै कार्यक्रम मनोरन्जनका लागि मात्र तयार पारिएको स्पष्ट पारेका छन्। यो राजनीतिक अभिष्ट पूरा गर्न वा कसैलाई सिध्याउन वा बनाउनका लागि नभएको उनको भनाइ छ।

यसै विषयमा ‘कमेडी नाइट विथ च्याम्पियन’का निर्देशन विशाल भण्डारीले पनि राजा नआउँदै जातीय विभेदको कुरा गरेको भन्दै राजावादीप्रति असन्तुष्टि पोखेका छन्। साथै अभियन्ताहरूलाई यस्ता राजवादीबाट जोगिन समेत आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘पूर्व राजालाई यस्ता गयगुज्रेका राजावादीबाट जोगाउनुस् है अभियन्ताहरू।’

असार १२, २०८२ बिहीबार ०९:०५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।