प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनले स्पेन भ्रमणका क्रममा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको तथा स्पेनस्थित नेपाली समुदाय उनलाई स्वागत गर्न आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

प्रधानमन्त्रीले भ्रमणकै दौरान स्पेनस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ। दूतावासका अनुसार, सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुनेछ।

स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो। करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख रहेको छ।

सन् १९८६ मा युरोपेली सङ्घको सदस्य बनेको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता प्राप्त गरेको थियो। स्पेनमा ८४ प्रतिशत स्पेनिस, १.७ प्रतिशत मोरक्कन, १.२ प्रतिशत रोमानियन र अन्य १२.३ प्रतिशत रहेको तथ्याङ्क छ।

स्पेन फुटबलका लागि पनि प्रख्यात छ, जहाँ साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाखभन्दा बढी दर्ता भएका खेलाडी छन्। भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो।

नेपाल-स्पेन दौत्य सम्बन्ध
नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। तर, स्पेनको म्याड्रिडमा नेपालको आवासीय राजदूतावास सन् २०१८ मा मात्र स्थापना भएको हो।

स्पेनको दूतावास नेपालमा नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ। स्पेनमा विभिन्न पेशा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ, जसमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी सक्रिय छन्।

नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेनको तथा त्यहाँका राजा कार्लाेसले पनि सन् १९८७ मा नेपालको चारदिने राजकीय भ्रमण गरेका थिए।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा स्पेनमा आयोजित ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिएका थिए। त्यसैगरी, सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिएका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो। त्यसअवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो। वैदेशिक रोजगारीका हिसाबले पनि स्पेन नेपालीका लागि नयाँ गन्तव्य बनिरहेको छ।

स्पेन विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ। त्यहाँको अर्थतन्त्रको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो। वार्षिक सवा करोड पर्यटकले स्पेन भ्रमण गर्ने गरेको तथ्याङ्क छ। यसैबीच, स्पेनबाट सन् २०१८ मा १९ हजार ५६३ पर्यटक नेपाल भ्रमणमा आएकामा कोभिड-१९ महामारीपछि त्यसमा केही गिरावट देखिएको छ।

नेपालको भौगोलिक अवस्थिति, प्राकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा र विविध पर्यटकीय स्थलले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्त सम्भावना छ। अनुकूल हावापानी र साहसिक पर्यटन, आध्यात्मिक चिन्तन, ध्यान र योगका लागि पनि नेपाल उपयुक्त गन्तव्य स्थलका रूपमा परिचित छ।

नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले स्पेन लगायतका युरोपेली मुलुकका पर्यटकलाई नेपालबारे जानकारी दिन र आकर्षित गर्न थप बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ।

असार १२, २०८२ बिहीबार ०७:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।