
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौं : हाल देशैभर मनसुनी वायुको प्रभाव छ। अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। मधेश प्रदेशमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। यसैगरी, कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। यसैगरी, कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदीमा जल सतह बढ्ने, गेग्रान बहाव आउने, बाढी, पहिरो र भूक्षयजस्ता प्रकोप हुन सक्छन्। यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा पर्न सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
असार १२, २०८२ बिहीबार ०७:०३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।