भ्रष्टाचार अभियोगमा माधव नेपालको नाममा निस्कियो ३५ लाखको धरौटी

काठमाडौँ : पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग मिलेर जग्गा हिनामिना गरेको भन्दै भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री माधव नेपाललाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
बुधवार बयान र थुनछेक बहसपछि अदालतले उनलाई ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपाल बुधवार विशेष अदालतमा हाजिर भएका थिए। उनी हाजिर भए लगत्तै उनको बयान भएको थियो। बयानपछि धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा राख्ने भनेर बहस भएको थियो। बहसपछि उनको नाममा धरौटी निस्कियो।
बयानमा नेपालले पतञ्जलि जग्गा प्रकरण मन्त्रीपरिषद्को नीतिगत निर्णय भएको र नीतिगत निर्णयबारे अख्तियारले छानबिन र मुद्दा दायर गर्न नसक्ने लगायतका तर्क गरेका थिए।
हदबन्दी भन्दा बढी जग्गा किन्न अनुमति दिएको र पछि त्यही जग्गा सट्टापट्टाको अनुमति समेत दिएर सरकारी जग्गा कम्पनीको बनाएर भ्रष्टाचार गरेको भन्दै नेपालसहितलाई आयोगले अभियुक्त बनाएको थियो। नेपालले दुवै प्रस्ताव प्रधानमन्त्रीको रूपमा मन्त्रीपरिषद्मा लगेर निर्णय गरेका थिए।
असार ११, २०८२ बुधबार २१:३६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।