भारतमा बन्धक बनाइएका ५८ नेपाली उद्धारपछि नेपाल आइपुगे

कञ्चनपुर : आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याएर बन्धक बनाइएका ५८ नेपाली नेपाल फर्किएका छन्। भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र काशीपुरमा ३५ जना गरी ५८ जनाको उद्धार भएको थियो।
नागरिक संस्था किन नेपाल, किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा बन्धक बनाइएका नेपाली युवाको उद्धार भएको थियो।
उनीहरू बुधवार पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
रुद्रपुर र काशीपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर-घरमा राखेर बन्धक बनाइएको खुलेपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको थियो।
उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पुर्याइएको थियो। रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धानको कार्य भइरहेको बोहराले बताए।
उद्धार गरिएका युवामा सुदूरपश्चिम कैलाली, डोटीका गरी ११ जना छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, दाङ, बाँके, स्याङ्जा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन्।
असार ११, २०८२ बुधबार २१:१९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।