बैंकको म्यानेजर बनेर फेसबुकबाट ६२ लाख ठगेको आरोपमा २० वर्षका युवा पक्राउ

धरान : सामाजिक सञ्जाल फेसबुकमार्फत ६२ लाख ७५ हजार ठगी गरेको आरोप लागेका २० वर्षका कुशेश्वर मेहता नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय मेहता ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाएर ‘फुइङ भानिदा’ नामक थाइल्यान्डको नागरिक र सिएम कमर्सियल बैंकका मेनेजर भएको भन्दै ठगी गरेको आरोपमा बुधवार पक्राउ परेका हुन्।
उनले आफ्नो परिचय दिँदै एलेन अर्बी शाही नामक व्यक्तिको बैंकमा खाता रहेको, निजको कोही पनि नातेदार नभएको र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले सो खातामा रहेको सम्पूर्ण रकम तपाईँको नाममा राखिदिन्छु भनेर प्रलोभन देखाएर ठगी गरेको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार साइबर ब्युरोको अनुरोधमा उनी पक्राउ परेका हुन्।
उनी विरुद्ध कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा ६२ लाख ७५ हजार पठाएको प्रमाणसहित उजुरी दिएका थिए। अनुसन्धानका क्रममा पीडितलाई झुटो विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको प्रवक्ता खतिवडाले दाबी गरे।
लामो समयदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकैबाट पक्राउ गरेको हो। प्रवक्ता खतिवडाका अनुसार पक्राउ परेका मेहतालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरो पठाइएको छ।
असार ११, २०८२ बुधबार २१:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।