आलमलाई सफाइ दिन उच्चले ‘त्रिलोक र ओसी मारिएको नै स्विकारेन, एक फरार , अर्को विदेशमा रहेको तर्क

आलमलाई सफाइ दिन उच्चले ‘त्रिलोक र ओसी मारिएको नै स्विकारेन, एक फरार , अर्को विदेशमा रहेको तर्क

काठमाडौं : नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताव आलमलाई हत्यामा भएको जन्मकैद र विष्फोटमा भएको कैद र जरिवानाको फैसला उल्टाउन जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले बम विस्फोटै नभएको र घटनामा मारिएका भनिएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर ‘ज्युँदै’ रहेको तर्क गरेको छ।

गत जेठ १४ मा भएको फैसलाको बुधवार सार्वजनिक भएको पूर्ण पाठमा अदालतको इजलासले सो दिन आलमको काकाको गोठमा बम विस्फोटै नभएको, घटनाको बेलामा समेत त्रिलोक अदालतबाटै फरार प्रतिवादी कायम भएको र ओसी वैदेशिक रोजगारीमा विदेशमा रहेको भनेर श्रीमती र ससुराले भनेकाले उनीहरू नमारिएको तर्क गर्दै आलमसहित तीन जनालाई जिल्ला अदालतले तोकेको सजायमा सफाइ दिएको हो।

फैसलाको पूर्ण पाठमा प्रस्टै बम नपड्किएको र त्रिलोक र ओसी नमारिएकाले कर्तव्य ज्यानमा सजाय हुन नसक्ने भन्दै जिल्ला अदालतको फैसला उल्टाइएको देखिन्छ। त्यसमा थप तत्कालीन अवस्थामा भएका मुचुल्का, जाहेरीकर्ता र वादीहरूको पक्षहरूले अदालतमा बदलेको बयान र अदालतमा बयानमा उपस्थितै नभएको पक्षलाई समेत सफाइको प्रमाणको रूपमा प्रयोग गरिएको छ।

‘मृतक भनिएका पिण्टु भन्ने त्रिलोक प्रताप सिंह रौतहट जिल्ला अदालतमा २०६४ पुस ३ गते चलेको मानव ओसारपसार मुद्दाको फरार प्रतिवादी रहेको रौतहट जिल्ला अदालतको २०६५ पुस २० को फैसलाबाट देखिएको’ उल्लेख छ।

‘आफ्नो पति मृतक भनिएका ओसी अख्तर मिया मजदुरीको सिलसिलामा विदेश गएको भनी रौतहट जिल्ला अदालतमा २०७६  कार्तिकमा सत्यतथ्य खुलाई निवेदन दिएको देखिन्छ र सोही बेहोराको अदालतमा बकपत्र गरेको देखिन्छ,’ फैसलाको पूर्ण पाठमा लेखिएको छ ‘यसै गरी ओसी अन्तरका ससुरा समसुल मियाले २०६४ सालको निर्वाचनको ३-४ दिनपछि ओसी अख्तर मिया र त्रिलोक प्रताप सिंहले आफूसँग सर्लाही जिल्लाको लालबन्दीमा भेट गरेको त्यसपश्चात मात्र घरबाट निस्केका हुन भनी अदालतमा बकपत्र गरेको देखिन्छ।’

घटनास्थल मुचुल्कामा बम विस्फोट नभएको र ईट्टाभट्टामा मानिस जलाएको नदेखिएको इट्टा भट्टामा काम गर्ने व्यक्तिहरूको बकपत्रबाट पुष्टि भएको र बम विस्फोट र इट्टा भट्टामा जलाई मारेको भन्ने वारदात नै स्थापित नभएको अदालतको इजलासको तर्क छ।

फैसलाको पूर्ण पाठमा २०६४ चैत २७ मा बम विस्फोटको घटना भएको भनिएकोमा घटना भएको अनुसन्धानबाट पुष्टि हुन नसकेको, त्यसबारे जाहेरी परेर अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने पुष्टि हुन नसकेको भनेर २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयबाट कसै उपर मुद्दा नचलाउने गरी निर्णय गरेकोलाई समेत सफाइमा प्रमाणको रूपमा लिएको देखिन्छ।

‘सर्वोच्च अदालतबाट २०६५ असार ३० को निर्णय बदर गरी पुनः प्रमाण बुझी प्रचलित कानून बमोजिम गर्न गराउन २०६९ जेठ १६ मा मा परमादेश जारी भएपछि पुन अनुसन्धान भएको र संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा चैत २७ मा बम विस्फोटको घटना भएको बस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको फैसलाको पूर्ण पाठमा उल्लेख छ।

‘विस्फोटको घाइते भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इट्टा भट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट समेत मृतकहरूलाई इट्टा भट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको’ फैसलामा उल्लेख छ।

यस्तो ‘अवस्थामा सुरु रौतहट जिल्ला अदालतबाट प्रतिवादीहरू मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज र बद्री सहनीलाई तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम कसुर ठहर गरी जन्मकैद हुने ठहर गरेको र विस्फोटक पदार्थ ऐन बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना हुने ठहर गरी २०८१ वैशाख १३ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई सबै प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ’ फैसलाको पूर्ण पाठमा लेखिएको छ।

घटनाको भोलिपल्ट प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परेको भए पनि जाहेरकर्ताहरु नै अदालतमा उपस्थित भएर बकपत्र नगरेको, केही जाहेरवाला अदालत उपस्थित नै नभएकोले जाहेरीलाई विश्वास गर्न नसकिने भन्दै आलम सहितलाई सफाइ दिएको देखिन्छ।

संविधान सभा निर्वाचनमा माओवादीका तत्कालीन उमेद्वारा सुरेन्द्र प्रसाद जयसवाल, एमालेका शैलेन्द्र साह, मधेसी जनअधिकार फोरमका  अब्दुल जवार, तत्कालीन तराई मधेस लोकतान्त्रिक पाटीका नागेन्द्र प्रसाद सिंह, स्वतन्त्र उम्मेदवार अफताव आलम, राम विनोद साह सोनार, असगर अलि खाँ, सोहन प्रसाद गुप्ता, मोहम्मद अवास, राजेश कुमारले घटना भए लगत्तै जाहेरी दिएका थिए।

तर राजेश कुमार र असगर अलि खाँ,एमाले उम्मेदवार शैलेन्द्र साहले २०७६ साउन २५ गते कागज गरेको तर अरू उम्मेदवारहरू रामविनोद साह सोनार, फोरमका अब्दुल जवार, तमलोपाका नागेन्द्र प्रसाद सिंहले अदालतमा २०६४ चैत्र ३० गतेको संयुक्त दरखास्तमा भएको सही, ब्यहोरा आफ्नो नभएको, २०६४ चैत्र २७ गते कुनै प्रकारको घटना नभएको बकपत्र गरेकोलाई पनि अदालतले आलमलाई सफाइ दिने प्रमाणको रूपमा उल्लेख गरेको छ।

त्यस्तै, अन्य उम्मेदवारहरू सुरेन्द्र प्रसाद जयसवाल, अकताव आलम र सोहन प्रसाद गुप्ताले अदालतमा उपस्थित भएर जाहेरीमा समर्थन भएको बताएको र २०७६ असार २४ गते घटना विवरणमा कागज गर्ने असगर अलि खाँ र राजेश कुमार अदालतमा उपस्थित भएर पनि बकपत्र नगरेकोले जाहेरी दिने ९ जना मध्ये ३ जनाले जाहेरी दरखास्त विपरीत कुनै प्रकारको घटना नभएको भनी एकै मिलानको बकपत्र गरेको र ५ जना अदालतमा बकपत्रको लागि उपस्थित नभएकोले जाहेरी ब्यहोरा नै विश्वसनीय प्रमाणको रूपमा ग्रहण योग्य नरहेको पूर्ण पाठमा उल्लेख छ।

राजपुर बम काण्डमा पहिलो चरणको जाहेरी पर्दा जाहेरकर्ताहरूले बोली फेरेपछि घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरको परिवारले २०७५ वैशाख १८ गते जाहेरी दिएका थिए।

त्रिलोकका बुबा नारायण सिंह राजपूत र ओसी अख्तरको आमा रुक्सना खातुनले अलग अलग जाहेरी दिएका थिए। नारायण सिंह राजपूतले दिएको जाहेरीमा उच्च अदालतले घटना भएकोबारे कसरी जानकारी भयो भन्ने नखुलेको, अदालतको बकपत्रमा घटना आँखाले नदेखेको बताएको, जाहेरीमा  सुरक्षा बलको सहयोगमा भट्टामा लगेर जलाएको भने पनि सुरक्षा बलका अधिकारीलाई अभियोग नलगाएको, जाहेरवाला प्रत्यक्षदर्शी नरहेको, घटनाको जानकारीको स्रोत नखुलेको र सुरक्षा बलले नै बेपत्ता पारेको भनिएकोले विश्वास नभएको तर्क गरिएको छ।

अर्का पीडित रुक्सना खातुनले दिएको जाहेरीको सुरक्षा बल र प्रशासनको सहयोगमा ओसी अख्तरलाई भट्टामा जलाएको उल्लेख गरेको तर उनीहरूलाई प्रतिवादी नबनाएको भनेर सफाइ दिन प्रमाणको रूपमा व्याख्या गरेको छ।

‘जाहेरवाला रुक्सना खातुनको जाहेरी दरखास्तमा सुरक्षा बल प्रशासनको सहयोग र सक्रियतामा ओसी अख्तरलाई इट्टा भट्टाको इट्टा पोल्ने प्वालको आगोको रापमा हाली जलाइएको बेहोरा उल्लेख गरेको देखिन्छ,’ फैसलामा उल्लेख छ ‘सुरक्षा बल र प्रशासन समेतको सहयोग र सक्रियतामा मृतकलाई जलाएको भनिएकोमा कुन सुरक्षा बल र प्रशासनको सहयोग र सक्रियतामा सो कार्य भएको हो अभियोग दाबीमा खुल्न नआएको ती व्यक्तिहरूलाई प्रतिवादी नबनाइएको समेतका आधारमा जाहेरी बेहोरा विश्वसनीय देखिन आएन।’

अदालतले खातुनको अदालतमा बकपत्र हुन नसकेको अवस्थालाई समेत प्रमाणको रूपमा लिएको छ। जबकि खातुन माइतीबाट घर फकिने क्रममा उनको गोली हानेर हत्या भएको थियो।

‘इटाभट्टामा मान्छे पोलेकै छैन’

फैसलामा ओसी र त्रिलोकलाई पोलेको भनिएको राजा इट्टा भट्टामा कुनै पनि घटना नभएको किटान गरेको छ। २०६४ चैत २७ मा भएको घटनाको प्रमाणको रूपमा २०६५ वैशाख १५ गते इटाभट्टाको खरानी सङ्कलन गरेको थियो।

त्यसलाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा २०६५ जेठ १३ गते पठाएकोमा प्रयोगशालाले दिएको प्रतिवेदनमा ‘ब्लड कुड नट डिटेक्टेड’ भन्ने रायका आधारमा त्यहाँ व्यक्ति नजलाएको निष्कर्षमा इजलास पुगेको देखिन्छ।

प्रयोगशालाले शेख इन्द्रिसको गोठको माटो, आलमको घरको माटो परीक्षणको लागि पठाएको भए पनि प्रयोगशालामा विस्फोटक पदार्थ परीक्षण गर्ने प्रविधि नभएको भन्दै २०७५ जेठ २० गते जवाफ पठाएको थियो। अदालतले सफाइमा यसलाई पनि आधार बनाएर २०६४ चैत्र २७ गते घटना नै नभएको ठहर गरेको देखिन्छ।

गौरी शंकरको बयान पत्याएन अदालतले

घटनाको प्रत्यक्षदर्शीहरू भारतीय नागरिक गौरीशङ्कर रामले जिल्ला अदालत रौतहटमा आफ्नो शरीरको खत बम विस्फोटबाट भएको बयान दिएका थिए।

उनले जिल्ला अदालत रौतहटमा आफू राजा इट्टा भट्टामा काम गर्ने गरेको र चुनावको एक दिन अगाडि इट्टा भट्टामा काम गर्ने मुन्सीसँग पैसा माग्दा पैसा दिन गाह्रो छ, माननीयज्यू चुनावमा व्यस्त हुनुहुन्छ भनेपछि पैसा माग्न आलमको घरमा जाँदा त्यहाँ भएको गाई गोठको घरमा एक दर्जन भन्दा बढी मानिसहरू भेला भएको र त्यहाँ गएको ४-५ मिनेट पछि ठुलो आवाज आउने गरी बम विस्फोट भएको खुलाएका छन्।

विस्फोटको छर्राले कान, छाती समेतमा आगो लागेपछि ६-७ सय मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडेको र खल्तीबाट बिस्तारै डायरी निकालेर फोन गरेपछि भाइको ससुरा आएर भारत सितामढीको अस्पतालमा लगेर उपचार गराएको बयान दिएका थिए।

तर अदालतले उनको बयान र प्रमाणलाई स्वीकार गरेन। इजलासले भन्यो ‘ निजले बेहोसी अवस्थामा डायरी निकाली भाइको ससुरालाई फोन गरी अस्पताल लगेको भनी जाहेरी दरखास्त भन्दा फरक बेहोरा उल्लेख गरेको देखिन्छ। बेहोस भई लडेको व्यक्ति, २०-२२ दिनपछि मात्र होस खुलेको व्यक्तिले बेहोसी अवस्थामा भाइको ससुरालाई फोन गरेको कुरा विश्वसनीय देखिन आएन।’

उनले उपचार गरेको भनिएको अस्पतालको कागजातको प्रेस्किप्सनमा स्टोभ पड्की घाउ खत लागेको भन्ने देखिएको र निजको शरीरको खत बम विस्फोटको खत रहेको कुरा झुटा साबित हुने भन्दै अस्वीकार गरेको छ।

बकपत्रको क्रममा उनले आफू राजा इट्टा भट्टामा काम गर्दथे, मुन्सीसँग पैसा माग्दा नदिएकोले अफताब आलमको घरमा पैसा माग्न गएको अवस्थामा बम विस्फोट भएको भनेकोमा भट्टामा काम गर्ने एकलाख आलम, शेख नथुनी, शेख अदुद समेतले गौरीशङ्कर रामलाई नचिनेको, भट्टामा काम नगरेको भनेर दिएको बकपत्रलाई समेत अदालतले प्रमाणको रूपमा लिएको छ।

अर्का घाइते सेख सफी अहमदको चोटबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका विज्ञले उनको शरीरमा लागेको खत विस्फोटकै कारण भएको प्रमाणित गरेका थिए। तर अदालतले यसमा सफीले बदलेको बयानलाई प्रमाण मान्यो।

प्रहरी बयानमा सफीले विस्फोटको छर्रा लागेर घाइते भएको बताएका थिए। तर पछि अदालतमा तेलले डढेको अनि स्टोनको अप्रेसन गरेको खत भएको दाबी गरेका थिए।

यता महाराजगन्जको फरेन्सिक विभागको प्रतिवेदनमा सो खत विस्फोटका कारण भएको घाउको हुनसक्ने भनेर लेखिए पनि सफी अहमदको शरीरमा रहेको घाउ खतको कारण के हो भन्ने यकिनसाथ भन्न नसकिने, यसको सम्भावित कारण विस्फोटबाट लागेको चोट हुन सक्ने लेखिएको र उनले बयानमा पत्थरीको उपचारको खत भनेको भन्दै त्यसलाई पनि अदालतको इजलासले अस्वीकार गर्यो।

‘रगत देखिएन, जालो सार्न सकिन्न’

घटनास्थलमा ओसी अख्तरको जुत्ता,मोजा र कपडाको फरेन्सिक परीक्षणमा रगत फेला नपरेको विषयलाई समेत अदालतले सो दिन बम विस्फोटै नभएको र कोही घाइते भएर भट्टामा लगेर जलाएर नमारेको प्रमाणको रूपमा व्याख्या गरेको छ।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र लगायतका संस्थाका प्रतिनिधि घटनास्थलमा गएर तस्बिरसहितको प्रमाण सङ्कलन गरेका थिए। तर अदालतले त्यसलाई तत्काल प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐन प्रावधान विपरीत रहेको भन्दै मुद्दामा त्यसलाई प्रमाणको रूपमा स्वीकार गरेन।

बम विस्फोट भएको भनिएको गोठको केही पर्खा भत्किएको र पछि त्यो मर्मत गरेको तथा केही खपडा बदलेको र पुरानै देखाउन अन्यन्त्रबाट माकुराको जालो ल्याएर राखेको भन्ने बयानबारे अदालतले ‘ माकुराको जालो संवेदनशील हुने भएकाले एक ठाउँबाट अर्को ठाउँमा सकुशल सार्न नमिल्ने तर्क गरेको छ।

सम्बन्धित समाचार

असार ११, २०८२ बुधबार १९:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।