गभर्नर पौडेलको २३ करोडभन्दा बढीको सम्पत्ति, सेयर मात्र १४ करोडको

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले करिब २३ करोड रुपैयाँ बराबरको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाअनुसार उनले नेपाल राष्ट्र बैंकमा उक्त विवरण पेश गरेका हुन्।
उनले बुझाएको विवरण अनुसार श्रीमती प्रतिभाको नाममा दुई ठाउँमा घरजग्गा रहेको छ। ललितपुरको ५ आना २ दाम क्षेत्रफलको जग्गामा २७९५ वर्गफिटको घर श्रीमती प्रतिभाको नाममा छ। यो घरजग्गा पैतृक सम्पत्ति र स्वआर्जन गरी १ करोड ५५ लाख रुपैयाँमा खरिद गरिएको विवरणमा उल्लेख छ।
त्यसैगरी, नवलपरासीको गैंडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट ६० लाख रुपैयाँमा खरिद गरिएको घर रहेको छ।
गभर्नर पौडेलसँग ४५ तोला सुनका गहना र करिब १५ लाख रुपैयाँ बराबरको हिरा रहेको विवरणमा उल्लेख छ। सुन भने पैतृक रुपमा प्राप्त भएको उल्लेख छ।
पौडेल र उनकी पत्नीको संयुक्त नाममा विभिन्न बैंकमा २० लाख ६८ हजार रुपैयाँ बचत रहेको छ। यो रकम सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकमा जम्मा गरिएको छ। यसबाहेक, पौडेलको डलर खातामा ६६ अमेरिकी डलर र उनकी पत्नीको खातामा ४ हजार ४ सय ४६ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ।
पौडेल र उनकी पत्नीको नाममा १४ करोड रुपैयाँभन्दा बढीको सेयर रहेको छ। साथै, श्रीमतीको नाममा ४४ लाख रुपैयाँमा खरिद गरिएको सुजुकी कार रहेको विवरणमा उल्लेख छ।
असार ११, २०८२ बुधबार १४:११:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।