सौरभ गांगुलीको बायोपिक बन्ने पक्का, मुख्य भूमिकामा राजकुमार राव

सौरभ गांगुलीको बायोपिक बन्ने पक्का, मुख्य भूमिकामा राजकुमार राव

एजेन्सी : भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा महान खेलाडी सौरभ गांगुलीको बायोपिक बन्ने पक्का भएको छ। लामो समयदेखि यस फिल्मको बारेमा चर्चा र विभिन्न अड्कलबाजी चलिरहेका थिए।

कहिले फिल्म बन्ने कि नबन्ने भन्ने अन्योल थियो भने कहिले ‘दादा’ अर्थात् सौरभ गांगुलीको भूमिका कुन अभिनेताले निभाउने भन्ने विषयमा चर्चा हुने गर्दथ्यो।

तर, अब यस फिल्मको बारेमा महत्वपूर्ण जानकारी बाहिर आएको छ र सौरभ गांगुलीको बायोपिक बन्ने कुरा आधिकारिक रूपमा पुष्टि भएको छ। साथै, यस फिल्ममा दादाको भूमिका अभिनेता राजकुमार रावले निर्वाह गर्ने निश्चित भएको छ।

एनडीटीभीसँगको एक कुराकानीमा अभिनेता राजकुमार रावले पूर्व भारतीय कप्तानको बायोपिकमा आफू मुख्य भूमिकामा देखिने कुरा पुष्टि गरेका हुन्। राजकुमार रावले भने, ‘अब दादाले नै यसको बारेमा बोल्नुभएको छ भने मैले पनि आधिकारिक घोषणा गर्नुपर्छ। हो, म उहाँको बायोपिक गर्दैछु र दादाको भूमिका निभाउँदैछु।’

आफ्नो भूमिकाबारे कुरा गर्दै उनले थपे, ‘दादाको यो भूमिकाका लागि म निकै नर्भस छु किनभने यो ठूलो जिम्मेवारी हो, तर यो धेरै रमाइलो पनि हुनेछ।’

उनले यस भूमिकाका लागि तयारीका क्रममा बंगाली भाषा सिकिरहेको पनि बताए। यस क्रममा उनले केही कठिनाइ भोगे पनि आफ्नी श्रीमती पत्रलेखा बंगाली भएकाले भाषा सिक्न सहज भएको उल्लेख गरे। समग्रमा भने भूमिकाका लागि आफूलाई तयार गर्न गाह्रो भइरहेको उनको भनाइ छ।

यसअघि यसै वर्षको सुरुमा सौरभ गांगुली आफैंले पनि आफ्नो बायोपिक बन्ने र त्यसमा राजकुमार रावले आफ्नो भूमिका खेल्ने कुरा बताएका थिए। त्यसपछि मितिको तालमेल नमिल्ने जस्ता कारणले केही अनुमान चलेका थिए।

तर, अब राजकुमार रावले स्वयंले फिल्म र आफ्नो भूमिकाबारे पुष्टि गरेपछि अन्योल हटेको छ। यो बायोपिकमा सौरभ गांगुलीको व्यक्तिगत जीवनदेखि क्रिकेट करियरसम्मका सबै पक्ष समेटिने बताइएको छ।

असार ११, २०८२ बुधबार १३:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।